गृहपृष्ठ इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गरेका छन् । उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताएका छन् ।

यहाँ हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र यहाँ धनजनको ठूलो क्षति पनि भइरहेकोले अब हत्या हिंसा रोकेर त्यहाँका नागरिकका बीचमा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताएका हुन् ।

संयुक्त राष्ट्रसंघकाे मुख्यालयमा सम्वाददाताहरुसँग उनले सो कुरा बताएका हुन् । ‘इथियोपियामा हिंसा बढी भयो । यहाँ हिंसा तथा विध्वंस गरेर कसैले पनि केही प्राप्त गर्न सक्दैनन् । यो बाटोबाट कसैको समस्या पनि समाधान हुदैन । अब हिंसा रोक्नुपर्छ र शान्तिपूर्ण माध्यमबाट अघि बढ्नुपर्छ,’ उनले भने ।

संयुक्त राष्ट्रसंघले शान्तिपूर्ण माध्यमबाट इथियोपियाको समस्याको समाधान खोजेको पनि महासचिव गुटरेसले बताएका थिए । उनले टिगरेको निकास सैनिक बलबाट नभएको र यसको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा संयुक्त राष्ट्रसंघ रहेको पनि बताए ।

उनले इथियोपियाको हिंसा रोकेर त्यहाँको समस्याको शान्तिपूर्ण समाधानका लागि अफ्रिकी युनियनलाई आग्रह पनि गरे । उनले सम्वाददाताहरुसँगको कुराकानीका क्रममा भने, ‘संयुक्त राष्ट्रसंघले अफ्रिकी युनियनलाई जे जस्तो आवश्यक पर्छ त्यो सहयोग गर्न तयार छ, यो समस्याको शान्तिपूर्ण तरिकाबाट वार्ता गरेर समाधान खोजोस् ।’

त्यहाँ हिंसाका कारण कैयौँ मानिसको ज्यान गएको छ भने भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । इथियोपियाको टिगरे क्षेत्रमा जारी रहेको हिंसाकाकारण अहिले पनि कम्तीमा १३ मिलियन नागरिकलाई मानवीय सहयताको खाँचो रहेको छ ।

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु