गृहपृष्ठ निर्वाचनका लागि छानिए १ लाख १५ हजार म्यादी
निर्वाचनका लागि छानिए १ लाख १५ हजार म्यादी
निर्वाचन सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म आवेदन खोलेकोमा आइतबार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको हो । सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा म्यादी भर्ना भएका छन् ।
मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी खटिँदै छन् ।
छनोट भएका म्यादीलाई असोज ३० देखि कात्तिक ८ सम्म प्रहरीबाट निर्वाचन सुरक्षा तालिम गराएर त्यसको भोलिपल्टबाट फिल्डमा खटाइने प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बताए । मतदानस्थलमा प्रहरी र म्यादी तथा बाहिरी सुरक्षामा सेना र सशस्त्रलाई खटाउने गरी सुरक्षा कार्ययोजना बनेको छ ।
४० दिनको कार्यावधि तोकेर तलब, भत्ता, रासन, पोसाकबापत् एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ म्यादीलाई उपलब्ध गराइनेछ ।
त्यसमध्ये ४० दिनको तलबबापत् ३४ हजार ७ सय ६०, पोसाकबापत् ६ हजार, रासनबापत् ७ हजार २ सय, हिमाली भेगमा खटिनेलाई ज्याकेट किन्न थप १ हजार, यातायात खर्चबापत् एक पटकका लागि १ हजार रुपैयाँ दिइनेछ ।
प्रकाशित समय : ०८:२३ बजे



















