गृहपृष्ठ गोरखाको आहालडाँडामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण हुँदै
गोरखाको आहालडाँडामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण हुँदै
गोरखा। गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित आहालडाँडामा करिब दुई करोड रुपैयाँको लागतमा गोरखनाथ मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातका अनुसार मन्दिर निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ। आउँदो फागुन महिनाभित्र निर्माणका सम्पूर्ण काम सकेर मन्दिर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
शिखरशैलीमा निर्माण गरिएको यस मन्दिरमा गोरखनाथको मूर्तिसहित प्राणप्रतिष्ठा गरेर पूजाआजा खुला गरिने अध्यक्ष बस्न्यातले जानकारी दिए। उनका अनुसार आहालडाँडामा मन्दिरका लागि झण्डै ४१७ रोपनी क्षेत्रफल जमिन भोगाधिकारका लागि प्राप्त भएको छ।
वृहत गुरुयोजनाअनुसार मन्दिर परिसरमा ध्यानकेन्द्र, स्थानीय जातका गाईहरू पालिने गौशाला, धर्मशाला र प्रवचनकक्षसमेत निर्माण गर्ने तयारी भइरहेको छ। त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिसरमा नै गुरुकुल सञ्चालनमा ल्याउन लागिएको पनि अध्यक्ष बस्न्यातले बताए।
मन्दिरलगायत परिसरभित्र अन्य आवश्यक भौतिक संरचनाहरू निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबाट आर्थिक सहयोग प्राप्त भएको छ। मन्दिर निर्माणका लागि सरकारी बाहेकका अन्य सङ्घसंस्था र व्यक्तिगत दाताहरूबाट भने कुनै पनि आर्थिक सहयोग नलिइएको आश्रमले जनाएको छ।
प्रकाशित समय : ०७:४९ बजे



















