global ime bank Long Banner Ad

गृहपृष्ठ पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र ललितपुर महानगरपालिका विजयी

पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र ललितपुर महानगरपालिका विजयी

पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र ललितपुर महानगरपालिका विजयी

काठमाडौं । त्रि. वि. क्रिकेट मैदानमा जारी प्रथम पीएल सिंह मेमोरियल टी–२० कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न चौथो खेलमा काठमाडौं महानगरपालिका र पाँचौँ खेलमा ललितपुर महानगरपालिका विजयी भएका छन । काठमाडौं महानगरपालिकाले वीरगन्ज महानगरपालिकालाई र ललितपुर महानगरपालिकाले भरतपुर महानगरलाई पराजित गरेका हुन् ।

आइतबारको पहिलो खेलमा काठमाडौं महानगरले वीरगन्ज महानगरमाथि ६ विकेटको सहज जित दर्ता गरेको छ ।

खेलमा वीरगन्ज महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । वर्षाका कारण १५ ओभरमा छोट्याइएको उक्त खेलमा वीरगन्जले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो ।

वीरगन्जका लागि अर्निको प्रसाद यादवले २६ बलमा सर्वाधिक २९ रन जोडे । रूपेश कुमार सिंहले २० बलमा अविजित २६ रन तथा अनिल कुमार साहले २२ रनको योगदान दिए ।

बलिङतर्फ काठमाडौंका नितेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

११२ रनको लक्ष्य पछ्याएको काठमाडौं महानगरले १२ ओभरमै मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । काठमाडौंका लागि रिञ्जिन लामाले २४ बलमा ४४ रनको आक्रामक इनिङ खेले । त्यस्तै, सोनु देवकोटाले १८ बलमा ३४ रन र इसान पाण्डेले २१ रन बनाउनुभयो । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका काठमाडौंका सोनु देवकोटा खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

आइतबार सम्पन्न दोस्रो खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरलाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भरतपुर महानगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल खडा गरेको थियो ।

भरतपुरका लागि सुर्यान्शु कोइरालाले ३२ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । शुभ कंसाकारले २१ रन र गौतम केसीले १८ रन बनाए । ललितपुरका बलर गणेश गौतमले ४ ओभरमा २२ रन दिँदै ३ विकेट तथा विधान खतिवडाले २ विकेट लिए ।

१७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ललितपुर महानगरले ५ बल बाँकी छँदै १९.१ ओभरमा ६ विकेट गुमाएर रोमाञ्चक जित दर्ता ग¥यो । ललितपुरको जितमा मध्य क्रमका ब्याटर विपिन आचार्यले उत्कृष्ट प्रदर्शन गर्दै ५३ बलमा अविजित ८२ रनको म्याच विनिङ इनिङ खेले । उनीलाई सक्रिय प्रताप कार्कीले १७ बलमा अविजित ३९ रन बनाएर बलियो साथ दिए ।

त्यस्तै सचिन लेखकले ३३ रनको योगदान दिए । भरतपुरका बलर शुभ कंसाकारले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । ललितपुरका विपिन आचार्य खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए ।

आज बिहान ९ बजे पोखरा महानगरविरुद्ध काठमाडौं महानगर र दिउँसो १ बजे पोखरा महानगरविरुद्ध विराटनगर महानगरबिच खेल हुँदैछ ।

प्रकाशित समय : ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु