फर्किए सन्दीप लामिछाने, विमानस्थलबाटै पक्राउ
वि.सं.२०७९ असोज २० बिहीवार ११:२१
shares

नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।
आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।
उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।
जाहेरीमा भदौ ५ गते लामिछानेले ती किशोरीलाई जबर्जस्ती नगरकोट पुर्याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्याई जबर्जस्ती करणी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । जाहेरीमा उनी नैरोबी उड्नु अघिल्लो रात घटना भएको उल्लेख छ । तर, घटनाको दुई सातापछि मात्रै पीडित प्रहरीमा पुगेकी थिइन् ।

























