गृहपृष्ठ स्यानिटरी प्याडमा अन्तःशुल्क नलाग्ने, खाने तेलको कच्चा पदार्थमा ९० प्रतिशत भन्सार छुट
स्यानिटरी प्याडमा अन्तःशुल्क नलाग्ने, खाने तेलको कच्चा पदार्थमा ९० प्रतिशत भन्सार छुट
सरकारले आर्थिक ऐन २०७९ मा संशोधन गर्दै विभिन्न वस्तुहरूमा लाग्दै आएका करका दर संशोधन गरेको छ । विद्यमान आर्थिक ऐनमा उल्लेख भएका विभिन्न दस्तुर, शुल्क, महसुल र करका दरहरू हेरफेर गरिएको हो ।
बिहीबार राजपत्रमा प्रकाशित विवरणअनुसार फलामको कच्चा पदार्थमा लाग्ने १० प्रतिशत भन्सारलाई ५ प्रतिशतमा झारिएको छ । स्यानिटरी प्याडको आयातमा अन्तःशुल्क लाग्ने छैन । वनस्पति घ्यु, तेल उद्योगहरूले कच्चा पदार्थको रूपमा प्रयोग गर्ने कच्चा भटमासको तेल, कच्चा पाम तेल र सूर्यमुखी तेलको आयात गर्दा भन्सार महसुल ९० प्रतिशतसम्म छुट दिने निर्णय सरकारले गरेको छ ।
भटमास र सूर्यमुखीको दाना आयात गर्दा यसअघि ५० प्रतिशत भन्सार छुट रहेकोमा अब ९० प्रतिशत भन्सार छुट दिइने छ । त्यस्तै, तोरी, रायो, क्यानोला, सर्स्र्युंको दाना आयातमा ५० प्रतिशत भन्सार छुट दिइँदै आएकोमा त्यस्तो छुटलाई पनि ९० प्रतिशत बनाइएको छ ।
उद्योग विभागको सिफारिसमा अप्टिकल फाइबर केबल उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको रूपमा रहने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १० प्रतिशत तोकिएको छ भने ट्विस्टेड स्ट्रान्ड वायरमा भन्सार महसुल १५ प्रतिशत तोकिएको छ ।
त्यस्तै, सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा यसअघि नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिकाभित्र १० प्रतिशत र महानगरपालिकाभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था रहेकोमा त्यसलाई घटाइ नगरपालिका क्षेत्रभित्रका सहकारीको कारोबारमा ५ प्रतिशत, उपमहानगरपालिकाभित्र ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीको कारोबारमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।
प्रकाशित समय : ०७:४१ बजे



















