काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाँध र कुलो व्यवस्थित नहुँदा पोखरी बन्यो धानखेत

10.42K
shares

बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा-६ की सरस्वती यादव अहिले निक्कै चिन्तित छिन् । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ ।

अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि सरस्वती चिन्तित बनेकी हुन् । बाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्षातकाे कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँछिन् ।

थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिदै गएको छ । ‘अब खै यसपालि त भोकमारी नै लाग्ला जस्तो छ,’ उनले भनिन् । सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र हैन एकडारा-६, गनरापुरामा कयौं घरसमेत बाढीको चपेटामा परेका छन् ।

गनरापुराकै रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेका छन् । कुलोसँगै जोडिएको उनको घर डुवानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजारा गरिरहेको दासले बताए ।

बाढीले खेत गेग्रानमा परिणत भएका छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेत पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ । ‘सानो वर्षापछि आएको बाढीले त बितन्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० बर्षीय सुरदेव यादव चिन्ता व्यक्त गर्छन् । अघिल्लो बर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्‍याएको थियो । ‘हामीलाई यो कुलोले निक्कै समस्या बनाउदै आएको छ । बर्सेनि यही कुलाको कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्छन् ।

कुलोमा आउने बाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी, थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन् । यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार जोखिममा छन् ।

स्थानीय सरकारले आफूहरुको समस्यालाई बेवास्ता गरेको पीडितहरुको गुनासो छ । तर, उनीहरुको समस्याप्रति आफूहरुको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताए ।