गृहपृष्ठ बालेनका सय दिन : महानगरमा के भयाे परिवर्तन ?

बालेनका सय दिन : महानगरमा के भयाे परिवर्तन ?

बालेनका सय दिन : महानगरमा के भयाे परिवर्तन ?

काठमाडौं महानगरपालिको नेतृत्वमा निर्वाचित भएका मेयर बालेन्द्र शाह (बालेन)ले एक सय दिन पुरा गरेका छन् । बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका उनले जेठ १२ मा सार्वजनिक मतपरिणाम अनुसार काँग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।

त्यसयता निरन्तर मैदानमा उत्रिएर कार्यसम्पादन गरिरहेका बालेनको सुरुवातलाई उत्साहजनक मानिएको छ ।

पछिल्लो समय सहरका अवैध संरचना हटाउन बालेनको अभियानले निकै चर्चा पाएको छ । गत १ साउनमा महानगरले जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट मेयर बालेन आफै फिल्डमा उत्रिएर अवैध संरचनामाथि डोजर चलाइरहेका छन् । यसअभियान अन्तर्गत सुन्धाराको काठमाडौं मलमा बनाइएका अवैध संरचनादेखि आरबी कम्प्लेक्सका छाप्रा भत्काइएको छ । बानेश्वरको अल्फाबिटाको अवैध संरचनासमेत हटाउने काम भएको छ । अन्डरग्राउण्ड पार्किङमा सञ्चालन गरिएका व्यवसायलाई समेत मेयर बालेनले बन्द गराउँदै हिडेका छन् ।

नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन सर्वोच्च अदालतको अतिरिम आदेश अवरोध भएपछि सामाजिक संजालमा मेयर बालेनले लेखेको स्टाटसले उनलाई मानहानीको मुद्धा लागेको छ ।

महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ । फुटपाथ व्यापारीदेखि सडकमा मागेर गुजारा गर्नेसम्मलाई रोक लगाएका छन् ।

मेयर बालेनले निर्वाचन अभियानको बेला गरेका वाचाअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याए । उनले आफ्नो घोषणा पत्रमा नेवाः समुदायमा प्रचलित घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्रम बजेटमा समेटे ।

महानगरभित्रका बिग्रेका ढल, सडक तत्काल मर्मतसम्भारका लागि पूर्वाधार एम्बुलेन्स सेवा संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए, जुन उनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर कार्यान्वयनमा ल्याएका छन् ।

बालेनले बन्द रहेका ब्रुमरहरु पनि यसबिचमा सञ्चालनमा ल्याए भने दमकल पनि थपिएको छ ।

मेयर बालेनले १०० दिनमा भोगेका सबभन्दा चर्को चुनौती भनेको फोहोर व्यवस्थापन हो । अघिल्ला मेयर विद्यासुन्दर शाक्यले फोहोरको समस्यालाई वेवास्ता गर्दा बालेनले निर्वाचित भएको पहिलो दिनदेखि नै यो चुनौतिको सामना गर्न पर्यो ।

फोहोरको समस्या समाधान नगरी माला, खादा नलगाउने बताएको बालेनले सुरुको करिब दुई महिना मुख्यतः फोहोरकै मुद्दामा अल्झिन पर्यो । उनले सिसडोल र खासगरेर बन्चरेडाँडाबासीसँग गरेका सम्झौता पूरा गर्ने बाचा गरेपछि हाललाई समस्या समाधान भएको छ । फोहोर उठाउन नसक्दा केहि समय मेयर साहको आलोचना भएको थियो ।

उनले वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहर छुटाएर कुहुनेबाट मल बनाउने कार्यक्रम बजेटमा ल्याएका थिए ।

मेयर बालेनलाई सूरुवाती दिनमै जनप्रतिनिधिले असहज बनाएका थिए । समन्वय नगरी अघि बढेको आरोप लगाएर कार्यपालिकाको पहिलो बैठकमै चर्काचर्की परेको थियो । बालेनले कमजोरी सच्याउने र वडाध्यक्षलाई साथमै लिएर हिड्न थालेपछि अहिले विवाद हटेको छ ।

प्रकाशित समय : ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु