गृहपृष्ठ बाजा बजाउन जान्नेहरु बाजा लिएर उठे
बाजा बजाउन जान्नेहरु बाजा लिएर उठे
झापा बिर्तामोड नगरपालिका–२ चारपाने कि शोभा दाहाल विमली उमेरले ५५ नाघिन् । तर, कला र संस्कृति संरक्षणप्रति उनको मोह भने जवान छ । शोभा अहिले पनि बिहेदेखि व्रतबन्धसम्मका शुभ कार्यहरुहरुमा तबला बादकको भूमिकामा सक्रिय देखिन्छिन् । तबला मात्रको के कुरा सहनाइदेखि दमाहासम्मका बाजा बजाएर शोभा समाजलाई छक्क पार्छिन । शोभा मात्रै नभइ बिर्तामोड चारपानेका २२ जना नारीहरु कला, संगीत र संस्कृति संरक्षणको बाटोमा डटेका छन् ।
शोभा र उनको टिम बाजा बजाएर किन हिँड्न चाहेका होलान ? शोभाले यसको कारण बताइन, ‘हामीले संगीतदेखि संस्कृतिसम्मको संरक्षण गर्नुपर्छ । के नारी के पुरुष,सबैको कर्तव्य हो यो । हाम्रो संस्कृति बच्यो भने हाम्रो पहिचान बन्छ । हामी आफै नलागे कसरी परम्पराको संरक्षण हुन्छ ? ।’

शोभाको यो प्रश्नमा चुनौती र हिम्मत घोलिएको थियो । उनकै नेतृत्वमा अहिले दश जना नारीले विभिन्न ठाउँमा पुगेर नौमती बाजा बजाइरहेका छन् । नौमती बाजाको संबर्द्धन तथा प्रवर्द्धन गर्न संस्था नै खोलेर उनीहरु जुटेका हुन् । उक्त संस्थाको अध्यक्ष हुन् शोभा ।
एकपटक रामनाथ दाहाललाई याद गरौँ ।
झापा विद्रोहमा सहिद भएका उनै रामनाथ दाहालकी छोरी हुन्, शोभा । बाध्यता र परिस्थितीले दश वर्ष इजरायल बसिन् । सन् २००५ मा इजरायल पुगेकी उनी सन् २०१५ सम्म इजरायल बसेकी हुन् । नेपाल फर्किएपछि कृषि व्यवसायमा जोडिइन् । अहिले पनि कृषि कर्मसँगै नौमती बाजाको संरक्षण अभियानमा हिँडिरहेकी छन् ।
शोभाकै प्रेरणा बनेकी छन् अर्की नारी मनिषा पाठक सिटौला । मनिषा अहिले यस संस्थाको सचिव छिन् । परम्परागत बाजा र संस्कृति संरक्षण गर्नुपर्छ भन्ने युवाको जमात घटिरहेको बेला मनिषा अपवाद बनेकी छिन् ।
कला र संस्कृति बचाइरहने पक्षमा उभिएकी छन् । मनिषाकै सल्लाह र शोभाको नेतृत्वमा संस्था खोलेर २५ जना नारीको नाम सिफारिस गरिएको थियो । तर परिणाम नेपाली समाजको तिरस्कारले २५ जनाबाट सात जनासम्म पुगेको घट्ना मनिषालाई अहिले पनि निको लाग्दैन । ‘संस्था ०७७ मा खोलियो । संस्था नै खोलेर बिहे व्रतमा बाजा बजाएर हिँड्नु नारीका लागि चुनौती त कति कति ! तर हामीले हिम्मत गर्यौँ । के पुरुषले मात्रै बाजा बजाउँछन् र ?’ मनिषाले फेरि ती दिन सम्झिदै सुनाइन, ‘रुढिवादी समाजले तल्लो दर्जामा राखेको जातिका पुरुषले मात्रै बजाउनुपर्छ भन्ने समाजका अगाडि चुनौती समेत खेप्नुपर्यो । यो बन्धन तोड्नुपर्छ र समाजमा नारीले पनि केही गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्थ्यौँ । त्यसैले ती चुनौतीहरु खेपेरै अगाडि बढयौँ ।’

मनिषा कुराकानीको क्रममा किन किन भावुक सुनिइन् । आँखाको नानीमा बगिरहेका आँशुका ढेका सेतो रङको हाते रुमालले पुछिन् । फेरि उनले पुराना दिनहरु सम्झिन चाहिन्,‘हामीले नौमती बाजा संरक्षणा अभियान सुरुवात गर्दा समाजले हेर्ने दृष्टिकोण फरक थियो । केही काम नपाएर बाजा बजाएर हिँड्न थाले, हाम्रो समुदायले नगर्ने काम यिनीहरुले गरे । हाम्रो नाकै काटे ।’
‘हामीलाई यसरी तिरस्कार गरिन्थ्यो कि संसारमा कतै नगरेको अपराध हामीले गरिहेका छौँ जस्तो गरेर । त्यसका बावजुद पनि हामी अगाढि बढ्यौँ । लोप हुँदै गएको बाजालाई संरक्षण गर्नुपर्छ भनेर हिँड्यौँ, ’ ब्यथाको गाँठो फुकाउँदै मनिषाले मन सिमलको भुवाजस्तै हलुका बनाउन चाहिन्,‘समाजको कुरा परिवारले त्यति सुनेन् । सबैकुरा बुझेपछि मलाई परिवारको साथ रहयो,सासुआमा हामीले नाटक गर्दा होस वा बाजा बजाउँदा हेर्न नै आउनुु हुन्थ्यो । झन् सहज भइदियो ।’
‘नौमती बाजा प्रवर्द्धनमा हिँड्दा समाजको यत्ति तिरस्कार खेप्नु परेको छ भने वर्षौदेखि त्यहीँ पेशालाई अँगालेर समाज र हाम्रो संस्कृतिमा रंग भरिरहेकाहरुले कति पीडा खेपिरहेका होलान् ?’ यो गम्भिर सवाल मनिषाको मनबाट निस्किएको हो ।
यो प्रश्नको जवाफ पनि उनीसँग तयार थियो । मनिषाले मन अमिलो पार्दै भनिन्,‘हाम्रो गुरु हुनुहुन्छ अमरबहादुर दर्नाल । उहाँ कहिले काहीँ हाम्रो साथ छोड्ने कुरा पनि गर्नुहुन्छ । कुनै विहे भोजमा हामीलाई खानानै अलग्गै ल्याइदिने समेत गरेका छन् । ‘मेरो कारणले यस्ता भएको छ मैले साथ छोड्नुपर्छ’ भनेर गुरु पनि अलग्गिन खोज्नुहुन्छ । तर, पछिल्लो समय हामी सबै बाह्मण समुदायको भएका कारण पनि नाम थाहा पाउने बित्तिकै अलि भिन्न व्यवहार गर्छन् । समाज जतिसुकै शिक्षित भयो भन्छन्,त्यो दिमाग र चेतनामा अहिले पनि भएको छैन ।’
२१औँ शताब्दीमा आएर पनि एउटा जातिले मात्रै बाजा बजाउने हो भन्नु,नारीले केही गर्न सक्दैनन् भन्नु, जातिका कुरा गर्नुले समाजलाई उचित दिशातर्फ डोर्याउँदैन ।
दार्जलिङमा बाजा बजाउने मान्छेहरु समेत नबोलेको, बाटो काटेर हिँडेको, तिरस्कारले हेरेको मनिषाको मस्तिष्कमा ताजै छ । उनले त्यो घटना साझा गर्न चाहिन् । भनिन्,‘हामी बाजा बजाइरहेका थियौँ । सबैले हेरिरहनु भएको थियो । तर, हामीलाई बोलाउनेहरु बाहेक कोही बोल्न चाहनुभएको थिएन । पछि एकजना सर नजिक आएर सोध्नुभयो–‘के थरीको पर्नुभयो हजुरहरु ।’ हामीले भन्यौँ । र, उहाँले हाँसेर भन्नु भयो–‘हामी त अघिदेखि हेरेर कति राम्रा दमाइनी रहेछन्, कहाँबाट भेला भएर आएछन् भन्ने सोचेका थियौँ ।’ हामीले आफ्नो थर बताएपछि सबै चकित भए । कुराकानी गर्न सुरु गरे । नाच्न थाले ।’

नौमती बाजा समूहमा आवद्ध नारीले चुनौतीका यस्ता पहाड त कति चढे,चढे । समूहकी सह–सचिव धनकुमारी भट्टराईले आफ्ना अनुभवको पोको यसरी फुकाइन्, ‘म उपाध्यायकी छोरी । माइतीघरका सबै दाजुभाइ पण्डित हुनुहुन्छ । पुराण पढ्दै हिँड्नुहुन्छ । आफुले यसरी नरसिङ्गा बजाएर हिँड्दा विरोध त गर्छन् नै । तर हामी त्यसलाई जितेर अगाडि बढ्नुपर्छ । जित्छौं पनि ।’
आफुले मात्रै नभइ नौमती बाजा संरक्षणको पुस्तान्तरण गर्ने सोचमा समेत छन् नारीको यो समुह । धनकुमारीले धक फुकाएर भनिन्’ ‘२१औँ शताब्दीमा आएर पनि एउटा जातिले मात्रै बाजा बजाउने हो भन्नु,नारीले केही गर्न सक्दैनन् भन्नु, जातिका कुरा गर्नुले समाजलाई उचित दिशातर्फ डोर्याउँदैन । त्यस्ता कुरालाई विश्वास नगरेर मैले बाजा र संस्कृतिबारे छोरा छोरीहरुलाई सिकाउनुपर्छ भनेको छु ।’
यहीँ चेतलाई बोकेकी धनकुमारीले छोरी मनिका चौहानलाई समेत साथमा लिने गरेकी छन् । मनिका पनि समूहमा आवद्ध भएर नौ वटा बाजामध्ये केही बाजा बजाउन सिकिसकेकी छन् । अहिले मनिकाले दमाहा बजाउने गरेकी छन् । धनकुमारी भने नरसिङ्गादेखि ढोलकसम्म बजाउँछिन् ।

समूहमा आवद्ध सबै आ–आफ्ना व्यवसायी गरिरहेका नारी हुन् । कोही सरकारी जागिरमा छन् त कोही कृषि कर्ममा । विहे, व्रतबन्ध, गुन्युचोली लगायत सभा सम्मलेन भएका बेला निश्चित पारिश्रमिक लिएर बाजा बजाउने र शुभ कार्य नभएका बेला आफ्नै कर्मतिर ध्यान दिने गरेका छन् समूहमा आवद्धहरुले ।
बिहे, ब्रतबन्धमा बाजा बजाउन गएका बेला दमैनी हुन् भनेर हामीलाई खानेपानीको धारा समेत छुन दिएनन् ।
संस्थाकी सह–कोषाध्यक्ष चन्द्रकला ढकाल सिटौला सरकारी जागिरमा छिन् । उनी भद्रपुर नगरपालिका–८ को वडासचिव समेत हुन् । संस्थामा उनको आवद्धताले समुदायमा छुट्टै खालको प्रभाव पारेको छ । यो नारी समूहमा जाुडइनका लागि चासो समेत देखाइरहेका छन् । समूहप्रतिको आकर्षण पनि उस्तै छ । चन्द्रकला बिदाको समय बाजा बजाउन समेत हिँड्ने गरेकी छन् । उनको यस्तो सक्रियताले नौमती बाजा समूहप्रति हेर्ने दृष्टिकोण नै बदलिएको संस्थाकी अध्यक्ष शोभाले बताइन् ।

समाजको दृष्टिकोणलाई चिरेरै अगाडि बढेको शोभाको समूह ‘नौमती बाजा बजाउन’ भारतको दार्जलिङदेखि सिक्किमसम्म पुगिसकेको छ । विभिन्न ठाउँबाट यसले सम्मान समेत पाइसकेको छ । अहिले ठाउँ, दुरी र दिन हेरेर समूहले पारिश्रमिक लिने गरेको छ ।
न्युनतम एक दिनको ३० हजारभन्दा माथि नै पारिश्रमिक लिने गरेको संस्थाकी कोषाध्यक्ष सुशिला दाहाल पोखरेलले बताइन् । भनिन्,‘समाजले जे गरे, जे सोचे पनि हामी निरन्तर अगाडि बढ्ने प्रयास गर्यौँ । अहिले हाम्रो पारिश्रमिक निश्चित छ । विवाह, व्रत, सभा सम्मेलन लगायतका शुभकार्य भएका बेला हाम्रो समूह जान्छ र बाजा बजाउँछौं । पारिश्रमिक लिन्छौँ । अनि, फर्किन्छौं ।’

एउटा समुदायले अर्कोलाई, मान्छेले मान्छेलाई यत्ति धेरै तिरस्कार गरेको छ कि कुरा गरेर साध्य नभएको सुशिलाले सुनाइन् – ‘सहिद रामनाथ दाहालको छोरीहरु पनि अहिले सहनाइ फुकेर हिँड्न थाले भन्ने समाज छ । बुवाले चाहेको त्यहीँ थियो । समाज परिवर्तन होस् । हाम्रो घरमा त्यतिबेला नै खाना पकाउने परियार थरको हुनुहुन्थ्यो । तर, समाजले अहिलेसम्म कुरा काट्न छोडेको छैन । त्यस्तो समाजमा हामी बस्छौँ ।’

सुशिला शोभाकी बहिनी हुन् । दुई बहिनी यसै संस्थामा आवद्ध छन् । उनीहरु एकसाथ स्मरण गर्छन्, ‘आमा ८२ वर्षको पुग्नुभयो । अहिले पनि हामीलाई नरसिङ्गा घरमै सिकाउनुहुन्छ । यसरी बजाउनुपर्छ । त्यसरी बजाएर हुन्छ ? भनेर हामीलाई सिकाउनु हुन्छ । त्यो जमानाको आमा अहिले पनि त्यस्तो सोच राख्नुहुन्छ ।’
सुशिलाका लागि बाजा बजाउन सिक्न त्यति सहज थिएन । उनले सुनाइन, ‘बिहे, ब्रतबन्धमा बाजा बजाउन गएका बेला दमैनी हुन् भनेर हामीलाई खानेपानीको धारा समेत छुन दिएनन् । त्यसरी पनि हामीले बाजा बजायौँ ।’

सुशिला मात्रै नभइ समूहमा आवद्ध र नौमती बाजा बजाउने सबैसँग यस्तै अनुभव छ । धनकुमारीले एउटा घटना सम्झिइन्, ‘हामी पुराण वाचन कार्यक्रममा बाजा बजाउन गएका थियौँ । हाम्रो गुरु बस्नु भएको कुर्सी एकजनाले लगेर अर्को ठाउँमा राख्नुभयो । पछि त्यहीँ ठाउँमा कानेखुसी गर्दै एकजनाले ‘दमाई/दमैनी बसेको कुुर्सी किन ल्याएको’ सम्म भन्नु भयो । उहाँहरु नबसेपछि फेरि त्यो कुर्सी हामी बसेको ठाउँमा आइपुग्यो । हाम्रो नाम सोधियो नाम भन्यौँ । ‘ए..तपाईंहरु दमाई होइन ?’ भन्नु भयो । पछि नजिकिएर भन्नु भयो–हामीले त दमाई सोचेको, यो बाजा दमाईंले मात्रै बजाउँछन्’ मन तितो भयो ।’
नौमती बाजा समूहमा आवद्ध नारीहरुसँग केही तिता त केही मिठा अनुभुति छन् । उनीहरुको सामुहिक प्रश्न छ, ‘हामीलाई सम्मान चाहिएको हो,तिरस्कार होइन । हामीलाई त यस्तो छ । वर्षौदेखि बाजा बजाउने समुदाय कतिसम्म अपहेलित होलान ?’
प्रकाशित समय : १८:५५ बजे



















