गृहपृष्ठ सञ्चारसम्बन्धी कानुन टुंगाेमा पुर्याउन महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
सञ्चारसम्बन्धी कानुन टुंगाेमा पुर्याउन महासंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगाेमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ ।
महासंघका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुंगाेमा पुर्याउनका लागि पहल गर्न आग्रह गरेको हो । भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन सञ्चारसम्बन्धी ती कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।
अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै महासंघले चिन्ता प्रकट गरेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगाेमा पुर्याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेलिफोनमार्फत निर्देशन दिएका थिए ।
महासंघले प्रतिनिधिसभा अवधि समाप्त हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगाेमा पुर्याउन सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने जनाएको छ ।
भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए ।
प्रकाशित समय : १६:०४ बजे



















