global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा

अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा

अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइरहँदा समाजमा आफ्नै बलबुतामा परिवारको जिम्मेवारी सम्हालिरहेका हजारौँ एकल महिलाहरूको संघर्ष, साहस र योगदानलाई सम्झने दिन हो । एक महिला विवाहपछि आफ्नो जन्मघर, बाल्यकालका सम्झना र आफ्ना धेरै चाहनाहरू त्यागेर नयाँ घरलाई आफ्नो संसार बनाउँछिन् । उनका सपना, भरोसा र भविष्य प्राय श्रीमानसँग गाँसिएका हुन्छन् । तर नियतिको खेल वा जीवनका विभिन्न परिस्थितिका कारण जब उनी एक्लिन बाध्य हुन्छिन्, तब उनले सामना गर्नुपर्ने चुनौतीहरूको कल्पना मात्र पनि सहज हुँदैन ।

श्रीमान गुमाएपछि वा कुनै कारणले एक्लै जीवनयापन गर्नुपर्दा एक महिलाको काँधमा परिवारको सम्पूर्ण जिम्मेवारी आइपर्छ । आफ्ना सन्तानको पालनपोषण, शिक्षा, स्वास्थ्यदेखि घरपरिवारको आर्थिक व्यवस्थापनसम्मका सबै दायित्व उनले एक्लै वहन गर्नुपर्छ । आफ्ना पीडा र आँसु लुकाएर सन्तानको उज्ज्वल भविष्यका लागि दिनरात खटिरहेकी एकल आमाको संघर्ष वास्तवमै प्रेरणादायी छ । उनी आमा मात्र होइनन्, सन्तानका लागि बुवा, साथी, अभिभावक र जीवनका मार्गदर्शक समेत बनेकी हुन्छिन् ।

तर हाम्रो समाजमा एकल महिलाले भोग्नुपर्ने समस्या आर्थिक वा पारिवारिक मात्र छैन । उनीहरूले समाजको हेपाहा दृष्टिकोण, विभेदपूर्ण व्यवहार र अनावश्यक टिप्पणीहरू पनि सहनुपर्छ । धेरै ठाउँमा अझै पनि एकल महिलालाई कमजोर, असहाय वा अवसरको खोजीमा रहेको व्यक्तिका रूपमा हेरिन्छ। कामकाजको क्षेत्रदेखि सामाजिक सम्बन्धसम्म उनीहरूले बारम्बार आफ्नो अस्तित्व र क्षमताको प्रमाण दिनुपर्ने अवस्था छ । यस्तो व्यवहारले उनीहरूको मनोबलमा चोट पु¥याए पनि धेरै एकल महिलाहरू हार नमानी अघि बढिरहेका छन् ।

एकल आमाहरू वास्तवमा नारी शक्तिका ज्वलन्त उदाहरण हुन् । उनीहरू जीवनका कठोर परिस्थितिलाई चुनौती दिँदै आफ्ना सन्तानलाई राम्रो भविष्य दिन निरन्तर संघर्षरत छन् । बुवाको अभाव महसुस हुन नदिन आफ्ना सन्तानका लागि हरेक भूमिका निभाउने उनीहरूको समर्पण अनुपम छ । आफ्नो व्यक्तिगत दुःखलाई छातीभित्र दबाएर सन्तानको मुस्कानमा आफ्नो खुसी खोज्ने उनीहरूको त्याग र ममता समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।

अन्तर्राष्ट्रिय एकल महिला दिवसले हामीलाई एकल महिलाप्रति सम्मान, सहानुभूति र सहयोगको भावना विकास गर्न प्रेरित गर्छ । उनीहरूलाई दया होइन, समान अवसर, सम्मान र साथको आवश्यकता छ । समाजले उनीहरूको संघर्षलाई बुझ्न सके र उनीहरूको योगदानको कदर गर्न सके मात्र वास्तविक समानता स्थापित हुन सक्छ । आजको दिन एकल आमाहरूको अदम्य साहस, अथक संघर्ष र अटल आत्मविश्वासलाई सम्मान गर्दै उनीहरूलाई समाजको गौरवका रूपमा स्वीकार गर्नै पर्छ ।

प्रकाशित समय : ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु