गृहपृष्ठ च्याउ खेतीबाट वार्षिक सात लाख नाफा गर्दै सिन्धुपाल्चोकका किसान
च्याउ खेतीबाट वार्षिक सात लाख नाफा गर्दै सिन्धुपाल्चोकका किसान

सिन्धुपाल्चोक क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा-१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफल भएका छन् । वार्षिक एक लाखमा जग्गा भाडामा लिएर च्याउ खेती गरेका राउतले सात जनालाई रोजगारी दिएका छन् ।
उत्पादनका हिसाबले जिल्लाकै ठूलो फार्म भएकोले हेर्न आउनेलाई राउतले फार्ममै च्याउको ‘रोष्ट’ बनाएर चखाउँछन् । झण्डै २० लाख लगानी गरेको च्याउ व्यवसायबाट सबै खर्च कटाएर वार्षिक सात लाख नाफा हुने गरेको राउत बताउँछन् ।
राउतका अनुसार च्याउ उत्पादनको ४० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । बाँकी ६० प्रतिशत काठमाडौंमा पुग्छ । च्याउको स्थानीय मूल्य एक सय ५० देखि दुई सयसम्म छ । बाह्रबिसे, खाडीचौरलगायत स्थानीय बजारका व्यापारी च्याउ लिन फार्ममै आउँछन् ।
त्यस्तै, तीन वर्षदेखि च्याउ खेती गरेका चौतारा साँगाचोक नगरपालिका–१० जल्किनेका सीता थापाको आफ्नै घर नजिकै प्लास्टिक टनेलमा राखिएको काठको मुढामा खैरो रंगको सिताके च्याउ ढपक्कै फलेका छन् । लगभग सात लाख लगानीमा तीनसय मुढाबाट व्यवसाय थालेका उनले अहिले एक हजार ५०० मुढा पुगेको छ । मुढामा बीउ राखेको नौ महिनापछि मात्रै उत्पादन हुने गरेकोले तीन सय मुढाबाट मात्रै उत्पादन भएको छ ।
उनकोमा महिनामा सय केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको ६ महिनासम्म मुढालाई थुपारेर राखेपछि फल्न सुरु हुन्छ । तर ठूलो खालको सिताके च्याउ उत्पादन हुन नौ महिनासम्म लाग्छ ।
प्रति केजी पाँच सयदेखि आठ सयसम्म बिक्री हुने गरेको उक्त च्याउबाट गतसाल साँढे दुई लाख आम्दानी भएको उनले बताइन् । यसवर्ष थपिएका मुढाबाट च्याउ उत्पादन भएपछि कम्तिमा दुईलाख देखि चार लाखसम्म आम्दानी हुने उनको आशा छ । जुनसुकै रोगीलाई उपयोगी हुने तथा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएको स्वास्थ्यबर्दक सिताके च्याउ खरिद गर्न स्थानीय व्यापारी घरसम्म आउने गरेका छन् ।
उनका अनुसार यो च्याउ विशेष गरेर उत्तिसको र कटुसको मुढामा हुन्छ । उत्तिस भन्दा कटुसको मुढामा यो फस्टाउँछ । तर मुढाको अभाव भएको उनले बताइन् । आफ्नै लगानीबाट सुरु गरेका सो खेतीमा उनलाई बागमती प्रदेश सरकारले नमूना कृषि फार्म स्थापना कार्यक्रम अन्तर्गत १५ लाख दिएको छ ।
पाँचपोखरी थांपाल गाउँपालिका–४ मा सीता श्रेष्ठले तीन वर्षदेखि गरेको सिताके च्याउबाट अहिले राम्रो आम्दानी गरेको बताउँछिन् । । श्रेष्ठले च्याउ खेतीबाट वार्षिक दुई लाख कमाउँछिन् । चौतारा साँगाचोकगढी नगरपालिका ४ मा उत्पादित सिताके च्याउले भने बजार नपाउँदा स्थानीय किसान चिन्तित बनेका छन् । २०७५ मा वसन्त कृषि तथा पशुपालन फार्म सञ्चालनमा ल्याएका व्यवसायी भीमसेन खड्काका अनुसार स्थानीयस्तरमा उत्पादन गरिएको च्याउले स्थानीय हाटबजारमा राम्रो भाउ नपाएकाले काठमाडौंको विभिन्न होटलसम्म पुर्याउनुपर्ने झन्झट व्यहोर्नु परेको छ ।
उनले फार्ममा विभिन्न जातका माछा, सिताके च्याउ, भैँसीपालनदेखि स्थानीय तरकारी तथा बेर्नाहरु उत्पादन गर्दै आएका छन् । स्थायी शिक्षकको जागिर छोडेर कृषि फार्मतिर आकर्षित भएका उनका बुबा झपडबहादुर पनि जिल्लाको उत्कृष्ट किसान थिए । तीन जनाले एक करोडको लागतमा सञ्चालनमा ल्याएको फार्मलाई पशुपालनको लागि प्रदेश सरकारबाट १० लाख तथा स्थानीय सरकारबाट माछापालनलाई ५० हजार अनुदान पाएको खड्काले बताए ।
प्रकाशित समय : १५:१७ बजे