गृहपृष्ठ ज्वरोका बिरामीका संख्यामा वृद्धि
ज्वरोका बिरामीका संख्यामा वृद्धि
कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्ने लगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको संख्यामा वृद्धि भएको छ ।
लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको संख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ ।
स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ । ‘स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ,’ उनले भने, ‘यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्नेमा त्यो हुनसकेको छैन । त्यसैले पनि ज्वरोको लक्षण लिएर आउने बिरामी बढेका छन् ।’ ज्वरो आएकाले पनि मास्कको प्रयोग नगर्ने भएकाले पनि संक्रमण बढ्दो रूपमा रहेको उनले जानकारी दिए ।
शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि पुग्ने तीन सयभन्दा बढी बिरामीमध्ये आधा बढी बिरामी ज्वरोका रहने गरेका छन् । तीमध्ये धेरैजसो बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ ।
मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढेको उनको भनाइ छ । ज्वरोसँगै टाइफाइड, रुघाखोकीसँगै दूषित पानीका कारणसमेत बिरामीको संख्या बढ्दाे रहेको छ । दोधारा चाँदनी प्राथमिक स्वास्थ केन्द्रका चिकित्सक आशिष पोख्रेलका अनुसार दैनिक केन्द्रमा एक सय बढी बिरामी उपचारका लागि पुग्ने गर्दछन् । तीमध्ये ७० प्रतिशत बिरामी भाइरल ज्वरोका रहने गरेका छन् ।
बिरामीको जाँचसँगै औषधि उपलब्ध गराई उमालेको पानीको प्रयोगमा जोड दिनका लागि आग्रह गरिँदै आएको चिकित्सक पोख्रेलले जानकारी दिए । महाकाली अस्पतालमा समेत उपचारका लागि पुग्नेमध्ये ६० प्रतिशत बढी बिरामी ज्वरोका रहने गरेका छन् ।
प्रकाशित समय : १२:०१ बजे



















