काश्मिर बस दुर्घटनामा ७ सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते
वि.सं.२०७९ साउन ३१ मंगलवार २०:५०
shares

भारतमा मंगलबार कम्तीमा ७ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित काश्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
दुर्घटनाका कारण अरू ३२ जना घाइते भएका छन् । उनीहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
काश्मिरमा पर्ने पाहल्गाममा सडकमा गुडिरहेको यात्रुवाहक बस नदीमा खसेर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।
चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूको भनाइ छ ।
भारतमा चालकहरूको लापरबाही, खराब अवस्थाको सडक र पर्याप्त मर्मत नगरिएका सवारी साधनका कारण हरेक वर्ष सयौँ दुर्घटना हुने र हजारौँको मृत्यु हुने गरेको छ ।

























