गृहपृष्ठ काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै
काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै
जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ ।
रेबिजको संक्रमणबाट पशु–चौपाया तथा मानिससमेतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ताअघि भुम्लु गाउँपालिका-१ सापिङमा रेबिजबाट पशु-चौपाया मरेपछि कार्यालयले सोमबारसम्ममा दुई सय १२ स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाएको छ ।
सात दिनपछि दोस्रो मात्रा खोप लगाइने तयारीसमेत भएको जनाइएको छ । प्राणघातक मानिएको सो रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एकै महिनामा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो ।
दुई हप्ताअघि सापिङमा रेबिजबाट केही भैँसी र बाख्रा मरेकामा स्थानीयवासीले केहीलाई पुरेको र केही काटेर खाएका कारण बाख्रा र भैँसीको मासु खाने छिमेकी टोलसमेतका व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनी भन्छन्, ‘मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ ।’ कार्यालय प्रमुख डा. सेढाईंले हालसम्म मानिसमा कुनै लक्षण नदेखिएको तर खोपसहित निगरानीमा भने राखिएको बताए ।
उक्त गाउँमा एक महिनाअघि दुई कुकुर र केही बाख्रा मरेको जनाइएको छ । हाल केही स्थानीयवासीको भैँसीले र्याल काढिरहेकाले पशुमा पनि रेबिजविरुद्धको खोप लगाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्र प्रमुख पशु चिकित्सक राजकुमार हुमागाईं भन्छन्, ‘त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु-चौपाया नखान आग्रह गरेका छौँ ।’ उनका अनुसार केही भैँसी बिरामी भएको खबर प्राप्त भएकाले पुनः आज पशु चिकित्सकको टोली त्यसतर्फ पठाइएको छ ।
यसअघि गत असार अन्तिम साता पनौती नगरपालिका–३ कुशादेवी सिमसारका १० जनालाई रेबिजविरुद्धको दुई मात्रा खोप लगाइएको थियो । स्थानीय स्वास्थ्य संस्थाले आफ्नो सम्पर्कमा राखी उनीहरुलाई घरमै निगरानी गरेको थियो । रेबिजबाट मृत्यु भएका युवाको सम्पर्कमा रहिआएका परिवारका सदस्यलगायतलाई ‘मात्रा’ अनुसार खोप लगाइएको थियो ।
प्रकाशित समय : १६:०६ बजे


















