गृहपृष्ठ छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
बिहीबार छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । उदयपुर, भोजपुर, बागलुङ र नवलपरासी पश्चिममा भएका दुर्घटनामा पाँच जनाको ज्यान गएको हो ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ बाघखोरमा स. १ त ५१०७ नम्बरको ट्रयाक्टर बिहीबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टर चालककी छोरी सोही गाउँपालिका ६ बस्ने ९ वर्षीया बिबिषा पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला तामाङ समान्य घाइते भएकी छन् । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ मा को. २ त ८७१४ नम्बरको ट्रयाक्टर बिहीबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने नन्दलाल पराजुलीकी छोरी १४ वर्षीया पुष्पा पराजुलीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ । ट्रयाक्टर चालक हाल फरार रहेकोले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
बागलुङ तमानखोला गाउँपालिका ५ खुंखानी बस्ने २५ वर्षीय धनबहादुर श्रीपालीको लु. ४ त ४०९७ नम्बरको ट्रयाक्टरबाट खसेर सोही ट्रयाक्टरले किच्दा बिहीबार साँझ घटनास्थलमै मृत्य भएको छ । सहचालक श्रीपाली तमानखोला १ सेतारास्थित सडकमा ट्रयाक्टरबाट अचानक खसेका थिए । प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ ।
त्यसैगरी नवलपरासी पश्चिम सुनवल नगरपालिका ७ समयटोलामा लु. २३ प २७०१ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक शिसहानी बस्ने ३५ वर्षीय केशव बस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका केशबको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पश्चिमकै बर्दघाट नगरपालिका १० ध्रुवटोलमा हाल नम्बर नखुलेको सवारी साधनले शुक्रबार बिहान ठक्कर दिँदा मागी खाई हिँड्ने हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी ती महिलाको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
प्रकाशित समय : १८:३० बजे


















