गृहपृष्ठ सशस्त्र प्रहरीलाई हतियार किन्ने सम्झौता रद्द गरियो
सशस्त्र प्रहरीलाई हतियार किन्ने सम्झौता रद्द गरियो
सशस्त्र प्रहरी बल (एपीएफ)का लागि हतियार किन्ने सम्झौता रद्द गरिएको छ । बिचौलियामार्फत ४७ करोड रुपैयाँ बराबरका हातहतियार तथा गोलीगट्ठा किन्ने गरी भएको सम्झौता सरकारले रद्द गरेको हो ।
सशस्त्रका लागि इटालीमा निर्मित २ हजार थान पिस्तोल र ब्राजिलमा निर्मित २ हजार ३ सय थान सटगन खरिद गर्ने गरी यसअघि भएको निर्णय मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले रद्द गरेको हो ।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै सशस्त्रका लागि असार पहिलो साता नेपाल राष्ट्र बैंकमार्फत खोलिएको २३ करोड र २५ करोड रुपैयाँ बराबरका दुई छुट्टाछुट्टै प्रतीतपत्र (एलसी) पनि रोकिएका छन् ।
गृहले दुईपटक पठाएका पत्रको जवाफ फर्काउँदै अर्थ मन्त्रालयले हाललाई हतियार खरिद प्रक्रियाबाट पछि हट्न राय दिएको थियो ।
गृहमन्त्री बालकृष्ण खाणले हाल विदेशी मुद्रा सञ्चितिको अवस्था कमजोर रहेको कारण देखाएर सशस्त्रका लागि हातहतियार खरिद सम्झौता रद्द गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि सम्झौता रद्द भएको हो ।
प्रकाशित समय : ०९:२५ बजे



















