moneygram ime

गृहपृष्ठ संक्रमणको चौथो लहरको संकेत !

संक्रमणको चौथो लहरको संकेत !

संक्रमणको चौथो लहरको संकेत !
citizen life insurance

नेपालमा चार जनामा घटेको संक्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक संक्रमण बढ्दै गएको पुष्टि हुन्छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा संक्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि संक्रमण बढ्न थालेको बताइएको छ ।

नेपालमा पनि ओमिक्रोनको ‘बीएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ । पहिले यहाँ संक्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते ८ सय १५ संक्रमित, साउन १७ गते ८ सय १४, साउन १६ गते ८ सय ९५ संक्रमित र एक जनाको निधन भएको छ ।

यस्तै साउन १५ गते ६ सय २०, साउन १४ गते ४ सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते ५ सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते ७ सय १० र दुई जनाको मृत्यु, साउन ११ गते ५ सय ६४ र एक जनाको मृत्यु, साउन १० गते ६ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी संक्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ ।

दैनिक संक्रमण बढिरहेकाले नेपालमा कतै संक्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले संक्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको संक्रमणको ग्राफले अर्को लहरको संकेत गरेको बताए ।

सरकारले आधिकारिकरूपमा संक्रमणको चौथो लहर भन्ने नगरेको र संक्रमणको ग्राफले नै लहर बताउने गरेको उनको भनाइ रहेको छ । ‘हामीले पहिले पनि ग्राफ बढे पनि संक्रमणको लहर भनेको थिएनौँ । अहिले पनि हामी भन्दैनौँ,’ उनले भने, ‘तर, अहिले संक्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।’

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको संकेत गरेको बताउँछन् ।

‘सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर, अहिले दैनिक हजारको संख्याले संक्रमणको चौथो लहरको संकेत गरेको छ,’ उनले भने, ‘यदि यसैगरी संक्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।’

उनले संक्रमण साउन र भदौमा धेरै माथि (पिक)मा पुग्ने र त्यसपछि घट्ने बताउँछन् । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा संक्रमण देखिने गरेको छ । ती मानिसहरूले नै संक्रमण सारिरहेका छन् ।

जनस्वास्थ्यविद् डा.सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस संक्रमणको चौथो लहर सुरू भएको बताउँछन् । ‘संक्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ,’ उनले भने, ‘नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।’

उनले अहिलेको संक्रमणको तह माथिल्लो तह (पिक लेभल)मा पुगेपछि पुनः घट्ने बताउँछन् । उनले भारतको खुला सिमाना र विदेशबाट आएका संक्रमितले संक्रमण सार्ने गरेको बताए । उनका अनुसार अहिले देखिएको ‘बीएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि संक्रमितलाई भने गम्भीर बनाउँदैन । उनले संक्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागु गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गरे ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते संक्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो संक्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो संक्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो ।

नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मंसिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार संक्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई संक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ ।

यस्तै, मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भिडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भिडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

मृतक अधिकांश खोप नलगाएका

कोरोना भाइरसको संक्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर, पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको संक्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट संक्रमणबाट मानिस मर्न थालेका हुन् ।

पछिल्ला समय कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा.गेलालले संक्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिए । (रासस)

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank