गृहपृष्ठ पहिराेले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

पहिराेले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

पहिराेले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको श्रीजंग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुंगासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ । सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको उनले बताए । रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरो खसिरहेको छ ।

गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो । सोपश्चात् वैकल्पिक सडकका रुपमा सोहीमाथि जंगल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिरोले सो सडकसमेत बगाएपछि उक्त स्थानबाट वैकल्पिकरुपमा सडक सञ्चालन हुँदै आएको छ । वैकल्पिक सडकसमेत सोही पहिराले पटक–पटक अवरुद्ध बनाउँदै आउँदा यात्रु मारमा पर्दै आएका छन् ।

बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुलाई समस्या हुँदै आएको छ । त्यस्तै, उक्त सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् । उनीहरुलाई समेत समस्या उत्पन्न भइरहेको छ ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु