गृहपृष्ठ नबिल बैंकबाट चेकबिना नै एक लाखसम्म झिक्न सकिने
नबिल बैंकबाट चेकबिना नै एक लाखसम्म झिक्न सकिने
नबिल बैंकबाट चेकबिना नै एक लाख रुपैयाँसम्म रकम झिक्न सकिने भएको छ । ग्राहकलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले ‘स्क्यान एन्ड विड्र’ सुविधा सुरु गरेको हो, जसअन्तर्गत ग्राहकले चेक प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाखसम्म रकम झिक्न सक्नेछन् ।
बैंकले यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको जनाएको छ । देशभरिका शाखामा यो सेवा चाँडै उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
नयाँ सेवा सुरु गर्दै प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिलकेशरी शाहले नबिल बैंकका ग्राहकले चेक या एटिएम कार्ड बोक्न बिर्सिए पनि मोबाइल बैंकिङ एप लग‑इन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सक्ने जानकारी गराए । ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्न नयाँ सुविधा ल्याइएको हो,’ उनले भने । ग्राहकले क्यूआर कोड स्क्यान गरेपछि ग्राहकको खाताबाट रकम घट्नेछ भने बैंकका कर्मचारीले ग्राहकले झिक्न चाहेको रकम हस्तान्तरण गर्नेछन् ।
प्रकाशित समय : १७:१५ बजे


















