मूल्यभन्दा तीन गुणा बढी खर्च गरेर लिमीमा चामल ढुवानी
वि.सं.२०७७ असोज २५ आइतवार २१:०१
shares

नाम मात्रको सडकको रेखा बनाइएको हुम्लाको उत्तरी क्षेत्र लिमीमा कोरोना महामारीले चीनको तिब्बतको नाका बन्द हुँदा सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्नुपरेको छ ।
सदरमुकामबाट लिमीसम्म बन्दोवस्तीका सामानहरू ढुवानी गर्दा तीन गुणा महंगो मूल्य पर्न गएको लिमीबासी बताउँछन् । उनीहरूका अनुसार ३० केजीमा प्रति कट्टा ५ हजार पर्न गएको छ ।
कोरोना भाइरसका कारण चीनसँगका सीमानाका बन्द भएपछि हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीमा निकै समस्या परेको छ । गाउँमा चामलको अभाव भएपछि लिमीबासी चार दिन हिँडेर हुम्ला सदरमुकाम सिमकोटमा खाद्यान्नका लागि गएका छन् ।
लिमीको बस्ती चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको हुँदा सदरमुकामबाट ढुवानी गर्न सकस भएको स्थानीयहरू बताउँछन् । ‘दैनिक आवश्यक पर्ने खाद्यवस्तु असोज/कात्तिकसम्म जोहो गर्न नसके वर्षभरी समस्या हुने गर्छ ।’ एक जना लिमीबासीले भने ।
अहिले लिमी गाउँमा खाद्यान्नको संकट भएपछि जनप्रतिनिधिसहित ११ जनाको टोली जिल्ला सदरमुकाम गएको छ । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ भन्छन्, ‘तत्काल खाद्यान्न आपूर्ति नगरे लिमीबासीले भोकै मर्ने अवस्था आउँछ, त्यसैले हामी खाद्यान्नका लागि जिल्ला सदरमुकाम आएका हौं ।’
वडाध्यक्ष तामाङको नेतृत्वमा वडा सदस्यहरू कोजुम आवेजाङ तामाङ र मिग्युर लामासहित तीन गाउँका स्थानीय सिमकोट पुगेका हुन् । चार दिन हिँडेर ११ जनाको टोली सदरमुकाम पुगेको वडाध्यक्ष तामाङले बताए । स्थानीयसहित बुधबार सिमकोट पुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकोले ल्याउन पाएका छैनौं । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेको आउनुपरेको हो ।’
लिमीमा चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति हुने गरेको थियो । तर, यसपटक कोरोनाका कारण ११ महिनादेखि हुम्लासँगका हिल्सा र लाप्चा नाका बन्द छन् । जसले गर्दा तिब्बतीय व्यापारीसँग मगाएका सामान पनि नाकामै रोकिएको उनले बताए । ‘तिब्बतबाट केही आउन दिएको छैन । हाम्रो सामान पनि नाकामै रोकिएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘अहिलेसम्म त जेनतेन चलेको थियो, अब नसकिने भयो ।’
समुद्री सतहबाट ४१ सय मिटरको उचाइमा रहेको लिमी उपत्यकामा तीन गाउँ तिल, जाङ र हल्जीमा १८० परिवार बस्छन् । तीनै गाउँमा जौं र उवामात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन । स्थानीयले फापर र आलु पनि उत्पादन गर्छन्, जसले बढीमा ६ महिना धान्ने गरेको छ । ‘स्थानीय उत्पादनले बढीमा ६ महिना पुग्छ, त्यसपछि तिब्बतबाट ल्याउने गरेका थियौँ,’ उनले भने ।
स्थानीय टर्सीफुबु लामाका अनुसार गाउँबाटै बन्दोबस्तीका सामान बोकेर आएका ११ जनाले गाउँबाटै खानपिन र बाटोमा वास बस्दा ओड्ने–ओछ्याउने कपडा बोकेर आएका हुन् उनीहरू पाँच हजार मिटरको उचाइमा रहेको न्यालुलेक पारगरेर सदरमुकाम पुगेका हुन् । लेकमा एक्लै आउँदा अप्ठ्यारो हुन सक्ने भएकाले समूहमा आएको उनीहरूको भनाइ छ ।
हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले खाद्यान्न आपूर्तिका लागि पहल गरिरहेको बताए । काठमाडौंमा रहेका उनले सम्बन्धित मन्त्रालय र निकाय धाइरहेको बताए । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख रामबहादुर विष्टले अबको केही दिनमा लिमीका लागि चाहिने ६ महिनासम्मको चामल दिन सक्ने बताए ।
सरकारले दिएको अनुदानको चामल ३० केजीको प्रति कट्टा दुई हजार पर्छ भने ढुवानी प्रति कट्टा पाँच हजार पर्ने भएको छ । सिमकोटबाट लिमीको जाँग र हल्जी गाउँमा पुगाउन प्रति केजी १७५ पर्ने भएको छ । यसबाट मूल्यभन्दा तीन गुणा बढी ढुवानी खर्च हुने भएको छ ।

























