गृहपृष्ठ साढे चार महिनापछि काभ्रेमा कोरोना संक्रमण पुष्टि
साढे चार महिनापछि काभ्रेमा कोरोना संक्रमण पुष्टि
काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पीसीआर र २४ एन्टीजेन परीक्षणमा चार महिलासहित पाँचमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि संक्रमणको लहर देखिएको कार्यालयले जनाएको हो ।
‘काभ्रेमा कोरोनाको लहर बढ्न सुरुवात गरेको अनुमान गर्न सकिन्छ,’ कार्यालयप्रमुख डा.पुरुषोत्तम सेडाइँले भने । उनका अनुसार परीक्षणको दायरा क्रमशः बढाइँदै लगिने छ । पाँच संक्रमितको अवस्था सामान्यनै रहेको जनाइएको छ ।
जिल्लामा यसअघि गत वर्षको चैत पहिलो साता एकमा कोरोना देखिएको थियो । गत फागुन मध्यमा तेस्रो लहरको यसको संक्रमणदर शून्यमा झरेको कार्यालयको तथ्यांकले देखाएको छ ।
जिल्लामा हालसम्म दुई वर्ष पाँच महिनाको अवधिमा १७ हजार ५६० मा कोरोना देखिएको छ । तीमध्ये कोरोनाको पहिलो र दोस्रो लहरमा जिल्लाका १९४ तथा तेस्रो लहरका बीच एक पुरुषको मृत्यु भएको थियो । संक्रमितमध्ये नौ हजार ३९४ पुरुष तथा आठ हजार १६६ महिला हुन् ।
प्रकाशित समय : १८:४८ बजे



















