गृहपृष्ठ समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

समयअगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

मनाङ । मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उद्घाटन गरे ।

भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य जिम्मेवारीअनुसार जिल्लामा सरकारका निकायलाई कानुनी रायसल्लाह दिनु तथा सरकारको पक्षमा मुद्दा सञ्चालन गर्नु रहेको बताए ।

उनले संविधानले प्रत्यायोजन गरेको अधिकारअनुसार महान्यायाधिवक्ताले जिल्लास्तरमा सरकारी वकिललाई अधिकार प्रत्यायोजन गर्ने र सोहीअनुसार सरकारी वकिलले कार्यसम्पादन गर्दै आएको जानकारी दिए ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेले नयाँ भवन निर्माणपछि सदरमुकामस्थित सरकारी कार्यालयमा सेवा प्रवाह थप सहज हुने बताए ।

उनले कतिपय सरकारी कार्यालयका आफ्नै भवन नभएको अवस्थामा सरकारी वकिलको कार्यालयका लागि सुविधासम्पन्न भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।

नायब महान्यायाधिवक्ता लोकराज पराजुलीले सरकारी वकिलको कार्यालय न्याय प्रणालीको अभिन्न अङ्ग भएको बताए ।

मनाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद पौड्यालले सेवा प्रवाहलाई सहज बनाउन सरकारी कार्यालयका भवन सेवाग्राहीमैत्री हुनुपर्ने बताए । उहाँले कार्यालयमा आउने सेवाग्राहीको सुरक्षा र सहज पहुँच सुनिश्चित गर्न आवश्यक संरचना तथा प्रविधिको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

भवन निर्माणका लागि विसं २०८१ माघ ११ गते चार करोड ८३ लाख १६ हजार २९ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले करिब चार महिनाअघि नै काम सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

प्रकाशित समय : ०६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु