गृहपृष्ठ श्रीलंका संकट : राजीनामादेखि घर हमलासम्म, राजपाक्षे परिवारका लागि ९ अंक श्राप हो ?
श्रीलंका संकट : राजीनामादेखि घर हमलासम्म, राजपाक्षे परिवारका लागि ९ अंक श्राप हो ?
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयता श्रीलंकाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । श्रीलंकामा राजपाक्षे परिवारका धेरै सदस्य सत्तामा छन् । अहिले अवस्था यस्तो छ कि महिन्दा राजपाक्षेसहित परिवारका अन्य सदस्यले राजीनामा दिएका छन् । यसैबीच राष्ट्रपति गोटाबाया राजपाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका छन् ।
लामो समयदेखि श्रीलंकाको राजनीतिमा उपस्थित रहेका राजपाक्षे परिवारका सदस्यले एक-एक गरी राजीनामा दिएका छन् । पहिलो मे ९ मा तत्कालीन प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिए । त्यसको एक महिनापछि ९ जुनमा तत्कालीन अर्थमन्त्री बसिल राजपाक्षेले राजीनामा दिएका थिए । त्यसको एक महिनापछि ९ जुलाईमा प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आक्रमण गरे । यस्तो अवस्थामा ९ नम्बर राजपाक्षे परिवारका लागि श्राप हो कि भन्ने प्रश्न उठ्छ ?
राजापाक्षे परिवारले श्रीलंकामा दशकौंसम्म शासन गरेको छ । राजपाक्षे परिवारका तीन दाजुभाइ केही महिनाअघिसम्म श्रीलंकाको सत्तामा थिए । राजापाक्षे परिवारले देशको अर्थतन्त्रलाई ध्वस्त पारेको आरोप लगाइएको छ ।
यसरी सुरु भयो राजपक्षे परिवारको राजनीति
राजपाक्षे परिवारबाट सन् १९३० को दशकमा राजनीति सुरु भएको देखिन्छ । राजापाक्षे परिवारका डन डेभिड राजपाक्षे पहिलो सरपंचमा निर्वाचित भएका थिए । डेभिड राजपाक्षेका छोरा डन म्याथ्यू राजपाक्षे सन् १९३६ मा हम्बनटोटा जिल्ला परिषदमा निर्वाचित भएका थिए । डन म्याथ्युजको मृत्युपछि उनका भाइ डन एल्भिन सन् १९४५ को उपचुनावमा निर्विरोध विजयी भए । सन् १९४७ को संसदीय चुनावमा राजपाक्षे परिवारका डन एल्विन बेलिटा निर्वाचित भएका थिए । उनका ६ छाेरा र ३ छाेरी थिए । जेठो चमल, त्यसपछि महिन्दा, त्यसपछि जयन्ती, टुडोर, गोटाबाया, तुलसी, प्रीति, डुडले र गान्डिनी हुन् ।
एल्विनको मृत्युपछि उनका छोरा महिन्दा राजपाक्षेले राजनीति सुरु गरेका थिए । सन् २००५ मा महिन्दा राजपाक्षे श्रीलंकाकाे राष्ट्रपति निर्वाचित भए । यसपछि राजपक्षे परिवारका मानिसहरूले सत्ताको महत्त्वपूर्ण पदमा क्रमश: कब्जा जमाउन थाले । महिन्दा राजपाक्षेले आफ्ना भाइ र तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेलाई रक्षा सचिवमा नियुक्त गरेका थिए । उनले आफ्ना कान्छो भाइ बसिल राजपाक्षेलाई राष्ट्रपतिको प्रमुख सल्लाहकारमा नियुक्त गरे ।
सन् २०१० मा महिन्दा राष्ट्रपतिको रूपमा पुन: निर्वाचित भए । जेठा दाइ चमल राजपाक्षेलाई पनि सत्तामा महत्त्वपूर्ण पद दिइएको थियो र उनी धेरै पटक मन्त्री भएका थिए । जसका कारण राजपाक्षे परिवारमाथि परिवारवाद, निरंकुशता र सरकारी स्रोतको दुरुपयोग गरेकाे आरोप लागेको थियो । कुनै बेला देशको ७० प्रतिशत बजेट राजपाक्षे परिवारको प्रत्यक्ष नियन्त्रणमा रहेको भनिएको थियो ।
यी आरोपहरूका बीच महिन्दा राजपाक्षेले सन् २०१५ को राष्ट्रपति चुनाव हारे । तर सन् २०१९ मा फेरि राजपाक्षे परिवारले श्रीलंकाको सबैभन्दा ठूलो पदमा कब्जा जमायो । यसपटक महिन्दा राजापाक्षेका भाइ गोटाबाया राजपाक्षे राष्ट्रपतिमा निर्वाचित भए । भाइ गोटाबाया सत्तामा आएसँगै महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
कसरी राजपाक्षे परिवारले श्रीलंकालाई डुबायो ?
महिन्दा राजपाक्षे सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति बने । सन् २०१५ मा सिरिसेनालाई हराउँदै मैत्रीपाला प्रधानमन्त्री बनेका थिए । महिन्दामाथि भ्रष्टाचारका धेरै आरोप लागेका थिए । श्रीलंकाको वायुसेनाले राष्ट्रपति चुनावका क्रममा महिन्दा र उनको परिवारले व्यक्तिगत यात्राका लागि सार्वजनिक पैसा प्रयोग गरेको आरोप लगाएको थियो । सन् २०१५ मा विदेशमन्त्री मंगला समरवीराले राजपाक्षे परिवारको विदेशमा १८ अर्ब डलर सम्पत्ति रहेको आरोप लगाएकी थिइन् । साे आरोपसँगै जनता सडकमा उत्रिएपछि महिन्दाले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
गोटाबाया राजपाक्षे महिन्दाका कान्छा भाइ हुन् । राजनीतिमा आउनुअघि उनी सेनामा लेफ्टिनेन्ट कर्णेल थिए । सन् २०१५ मा इन्टरपोलले गोटाबाया रक्षा सचिव हुँदा सैन्य सामग्री खरिदमा १० मिलियन डलर घोटाला भएको खुलासा गर्यो । मार्च २०१५ मा श्रीलंकाको एक अदालतले सैन्य जहाज प्रयोग गरेको कारण गोटाबायाको यात्रामा प्रतिबन्ध लगाएको थियो । गोटाबायामाथि मानव अधिकार उल्लंघनको आरोप पनि लाग्दै आइरहेको छ ।
बासिल राजपाक्षे श्रीलंकाका अर्थमन्त्री भइसकेका छन् । उनी महिन्द्राका भाइ हुन् । बासिलमाथि भ्रष्टाचार र सरकारी सम्पत्ति हिनामिना गरेको आरोप पनि लागेको छ । सरकारी ठेक्कामा कमिशनका कारण उनलाई ‘मिस्टर १० प्रतिशत’ पनि भनिन्छ । महिन्दा सरकारमा क्याबिनेट मन्त्री हुँदा बसिलले निर्माण आयोजनामा रकम दुरुपयोग गरेको आरोप पनि लागेको छ ।
प्रकाशित समय : १९:४० बजे