गृहपृष्ठ ‘जलविद्युत उत्पादन गर्ने एसियामै पहिलो राष्ट्र भएर पनि नेपाल पछाडि पर्यो’
‘जलविद्युत उत्पादन गर्ने एसियामै पहिलो राष्ट्र भएर पनि नेपाल पछाडि पर्यो’

जलस्रोत, उर्जा तथा सिंचाइमन्त्री पम्फा भुसालले महँगिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपतलाई बढाउन आग्रह गरेकी छन् । मुलुकको आर्थिक समृद्धिकाे मुख्य आधार जलविद्युत भएको भन्दै उनले महँगिदै गएको पेट्रोलियम पदार्थको सट्टा विद्युतीय उर्जाको खपतलाई बढाउन आग्रह गरेकी हुन् ।
नेपाल सर्भेयर एसोसिएसनले जलविद्युत आयोजनाको बिमाका समस्यामा केन्द्रित गर्दै आइतबार राजधानीमा आयोजना गरेको ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले प्रकृतिले दिएको वरदान अर्थतन्त्रको महत्वपूर्ण स्रोत उर्जाको भरपुर उपयोग गर्न नसक्दा हामी आर्थिक र सामाजिक विकासका दृष्टिले परेको बताइन् । ‘११२ वर्षअघि जलविद्युत उत्पादन गर्ने एसियामै पहिलो राष्ट्र भएर पनि जलविद्युतको उपयोग गर्ने सवालमा नेपाल पछाडि पर्यो,’ उनले भनिन् ।
पछिल्लो समय विद्युत उत्पादनमा आत्मनिर्भरको बाटोमा पुगेको भन्दै उनले उद्योगधन्दाका लागि पनि अहिले उर्जा अभाव नभएको बताइन् । मन्त्री भुसालले जलविद्युत आयोजनाको बिमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार भन्दै सरोकारवालाहरुलाई यस विषयमा छलफलबाट समाधान निकाल्न आग्रह गरिन् ।
नाफामूलक तरिकाले मात्रै बिमा क्षेत्रलाई नलिन आग्रह गर्दै सेवा प्रवाहका दृष्टिले हेर्न उनले आग्रह गरिन् । बिमाले संकटको सुरक्षा गर्ने भएकाले एकदमै नाफा गर्ने भन्दा पनि सेवा गर्ने क्षेत्रका रुपमा सबैले बुझ्नु पर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुककै समृद्घिको मुख्य आधार जलविद्युत आयोजनाहरुलाई बिमाका दृष्टिले जोखिमरहित बनाउन सके जलविद्युतको निर्माण र भूमिकाले पनि तीव्रता पाउने बताए । बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमा क्षेत्रकै महत्वपूर्ण पक्षका रुपमा सर्भेयर भएको बताए ।
प्रकाशित समय १४:२३ बजे