गृहपृष्ठ महासंघको ५० व्यवसाय ५० लगानीकर्ता कार्यक्रम, मुरारकाले रासन टेकमा लगानी गर्ने
महासंघको ५० व्यवसाय ५० लगानीकर्ता कार्यक्रम, मुरारकाले रासन टेकमा लगानी गर्ने
नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० बिजनेस ५० लगानीकर्ता कार्यक्रमअन्तर्गत सम्भावित लगानीकर्ताका बीचमा २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुति दिएका छन् ।
महासंघको यस कार्यक्रमअन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ । मुलुकभित्र नवीनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ ।
महासंघ आफैले आवेदनमार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघसंस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसंग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ सेसनमा भाग लिएका थिए । महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसँग आवेदन समेत माग गरेको थियो ।
पिचिङ सेसनमा कृषि, उत्पादनमुलक, खानपीन, सूचना प्रविधि, सेवासंग सम्बन्धित विजनेश योजना प्रस्तुुत भएका थिए । महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत बर्ष चैत्र ९ गते ५० विजनेश ५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो ।
पिचिङ शेशनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनुअरशिप सर्भिस (नेम्स),अन्सु टेक्नोलोजि प्रालि, लुक्ला आउटडोर, पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस, टेका, बोआफ्रेश,ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसीस छन् ।
महासंघले पहिलोपटक स्टार्टअप एण्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवर्धनमा काम गर्दै आएको छ । महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ ।
यूवा उद्यमशीलता विकास र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायलाई सहयोग गर्नुपर्ने महासंघको निरन्तर पहलमा स्टार्टअप व्यवसायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू सरकारकाे बजेटमा परेका छन् । जसमा ठूला उद्योगसँगको अग्र तथा पृष्ठ अन्तर सम्बन्ध कायम गर्ने, च्यालेन्ज फण्डको स्थापना, इन्कुवेशन केन्द्र सञ्चालन लगायतका कार्यक्रमहरू संघीय सरकारको बजेटमा आएका छन् ।
महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिनेछन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नवीनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे। महासंघको आर्थिक रुपान्तरण २०३० (भिजन पेपर)ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि हाम्रै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रंजितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने विश्वास गरे । सभापति आचार्यले समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेश गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको बताए ।
प्रकाशित समय : १६:४२ बजे