गृहपृष्ठ अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सभामुखको निर्देशन
अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु प्रकरण घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले उक्ट घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधिसभाको विशेष समयमा अछाम क्षेत्र नम्बर २ का नेकपा (एमाले)का सांसद् यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटना प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले भनेका थिए, ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लाशको पोष्टमार्टम गरेको छैन ।’
त्यसपछि सभामुख सापकोटाले भने,‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’
हिजोको बैठकमा पनि सांसद् बोगटी र भीम रावलले घटनाको विषयमा सदनमा जानकारी दिन सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेका थिए । तर, आज पनि त्यहाँ जाहेरी दर्ता भएको छैन ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल निवायक नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच विवाद भएको थियो ।
स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करिब ३ घन्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहारो झडप भएको थिया । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।
प्रकाशित समय : १९:३३ बजे