गृहपृष्ठ १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे: राष्ट्र संघ
१ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे: राष्ट्र संघ
संयुक्त राष्ट्र संघले रुस-युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो ।
युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र संघीय संकट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् । द्वन्द्वले १ करोड ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको समेत अभावमा छन् । गत फेब्रुअरी २४ मा द्वन्द्व सुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका सहरसहित युक्रेनभरि लगभग ८ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको संयुक्त राष्ट्रका अधिकारीले बताएका छन् ।
संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय संकट जाडो याममा अझ चर्किने चेतावनी दिएको छ ।
प्रकाशित समय : ००:१० बजे


















