गृहपृष्ठ बजेट सन्तुलित र वास्तविक छ : अर्थमन्त्री
बजेट सन्तुलित र वास्तविक छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले बजेट महत्वकांक्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गरे ।
अर्थमन्त्री शर्माले चालू आवको तुलनामा आगामी आवको बजेट ९.८६ प्रतिशतले मात्रै बढी भएकाले यसलाई महत्वाकांक्षी भन्न नमिल्ने बताए । उनले संविधान र संघीयताको मर्मलाई मध्यनजर गरी बजेट तर्जुमा गरिएको धारणा राखे । कृषि क्षेत्रमा प्रोत्साहन, बाँझो जमिनको सदुपयोग र युवालाई कृषिमा आकर्षण गर्न बजेटले कार्यक्रम समावेश गरेको उनले जानकारी दिए । किसानलाई आत्मसम्मानका साथ उत्साहित गर्नुपर्ने भएकाले योगदानमा आधारित किसान हितकोषको व्यवस्था गरिएको र बजेटले आन्तरिक उत्पादनलाई जोड दिएको उनले उल्लेख गरे ।
उपलब्ध स्रोत, साधन, पुँजी र प्रविधिलाई जोडेर तीव्र उत्पादनतर्फ देशलाई लैजाने आजको आवश्यकता भएकाले सोहीअनुरुप बजेट तर्जुमा गरिएको मन्त्री शर्माले बताए । उत्पादनमूलक उद्योग, निर्यात प्रवर्द्धनलगायत विषयलाई बजेटले समेटेको पनि उनले जानकारी दिए ।
अर्थमन्त्री शर्माले निर्वाचन हुने वर्ष भए तापनि संविधानत: सरकारले हरेक जेठ १५ मा वार्षिक बजेट पेश गर्नुपर्ने भएकाले सो दायित्व निर्वाह गर्दै बजेट ल्याइएकाले निर्वाचनवपछि बन्ने सरकारले पनि यस बजेटलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको तथा राजस्व संकलन पनि सन्तोषजनक रहेको बताए ।
उनले आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवद्र्धनका लागि गरिएको लगानीलगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गरे । उनले चालू आवमा वैदेशिक सहायता उत्साहजनक रहेको र आगामी वर्ष वैदेशिक लगानी भित्र्याउने आधार तयार गरिएकाले अर्थतन्त्रको प्रगति हुने अपेक्षा गरे । उनले मल र बीउका लागि पर्याप्त बजेट विनियोजन भएकाले आवश्यकताअनुरुप बजेट व्यवस्थापन हुने भन्दै कृषकलाई मलको अभाव हुन नदिने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलगायत ठूला पूर्वाधार आयोजना यसै वर्ष सुरु गरिने उनले प्रतिबद्धता जनाए ।
उनले पर्यटन क्षेत्रको पुनरुत्थान, लगानीमा सहुलियत, कृषि, वन प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे । मन्त्री शर्माले शैक्षिक सुधारका कार्यक्रमलाई निरन्तरता दिई प्राविधिक र भौतिक सुधारलाई जोड दिइएको बताए ।
प्रकाशित समय : ००:३७ बजे