गृहपृष्ठ संखुवासभामा ढिस्कोले पुरेर २ जना सडक मजदुरको मृत्यु
संखुवासभामा ढिस्कोले पुरेर २ जना सडक मजदुरको मृत्यु
सडक निर्माणमा खटिएका दुईजना मजदुरको ढिस्कोले पुरिएर मृत्यु भएको छ । उनीहरु चैनपुर-गुफापोखरी सडक खण्डअन्तर्गत चैनपुर-१, स्थित नुनढाकीको बिहीबारे क्षेत्रमा सडक मर्मतमा कार्यरत थिए ।
बुधबार बिहान काम गरिरहेको ठाउँमा माथिबाट खसेको ढिस्कोले दुवैलाई पुरेको स्थानीयवासी सुदिप लिम्बुले बताए । उनका अनुसार मृत्यु हुनेहरुमा उदयपुर घर भएका ३५ वर्षीय हेम मगर र धरान घर भएका १९ वर्षीय रामकुमार राई रहेका छन् । ‘उनीहरु दुवैजना ग्याबिन वालको काम गर्ने मजदुर हुन् । काम गरिरहेको समयमा माथिबाट ढिस्को खसेर पुरेछ, 'स्थानीयवासी लिम्बुले न्युजकारोबारसँग भने,'थाहा पाउनेबित्तिकै हामीले निकाल्ने काेसिस त गर्याैं । तर, धेरै नै गम्भिर किसिमले किचेकाे रहेछ । क्षतविक्षत नै भएकाे पाइयाे ।'
उनका अनुसार घटना करिब ११ बजेतिरको हो । अहिले प्रहरी चौकी नुनढाकीको टोली घटनास्थलमा आइसकेको र इलाका प्रहरी कार्यालय, चैनपुरबाट इन्स्पेक्टरको टोली पनि आइरहेको लिम्बुले बताए ।
प्रकाशित समय : १८:०४ बजे



















