गृहपृष्ठ कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की ।गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ४४ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकामा लक्ष्यअनुसारनै उत्पादन भएको थियो ।

उक्त परिमाणमा दूध उत्पादन गरेबापत किसानलाई प्रतिलिटर पाँचका दरले सहकारी संस्थामार्फत प्रोत्साहन सहयोग उपलब्ध गराइएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । उनका अनुसार दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि दुई करोड २० लाख बजेट विनियोजन गरिएकामा विनियोजित सम्पूर्ण रकम खर्च भई वित्तीय सतप्रतिशत हासिल भएको छ ।

“कार्यक्रमको मुख्य उद्देश्य किसानलाई दूध उत्पादन तथा औपचारिक बजारमा आबद्ध हुन प्रोत्साहित गर्नु हो । यसबाट सरकारले प्रदान गर्ने अनुदान कृषकले प्रत्यक्ष रूपमा प्राप्त गरेका छन् । उत्पादनका आधारमा प्रदान गरिएको अनुदानले व्यावसायिक पशुपालनमा सहयोग पुगेको छ”, कार्यालय प्रमुख न्यौपानेले भने ।

कास्कीमा २७ वटा दूध सङ्कलन संस्थारकेन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध सङ्कलन भएको विवरणमा उल्लेख छ । साथै आठ हजार ५० जना किसान दूध सङ्कलन प्रणालीमा आबद्ध रहेका कार्यालयले जनाएको छ । कार्यालयले दूध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग जोड्न सहयोग पुगेको जनाएको छ ।

उत्पादनमा आधारित अनुदानसँगै पाडीबाच्छी हुर्काउने प्रोत्साहन कार्यक्रमलाई पनि पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाइएको छ । यसैगरी पाडीबाच्छी हुर्काउने प्रोत्साहन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष ३५० वटाको लक्ष्य राखिएकोमा ४५४ वटा पाडीबाच्छी हुर्काइएको थियो । यस कार्यक्रमका लागि ३५ लाख बजेट विनियोजन भएको थियो ।

कार्यालयका प्रमुख डा न्यौपानेका अनुसार यस कार्यक्रमबाट यस वर्ष करिब १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने अपेक्षा गरिएको छ । करिब ९९ कोरली पाडी र ३५५ कोरली बाच्छी हुर्किइ माउ बन्न योग्य भएका उनले जानकारी दिए। कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ मा पनि दूध उत्पादन प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिएको छ ।

जिल्लामा गाई तथा भैँसीपालनमा आबद्ध परिवारको सङ्ख्या उल्लेख्य रहेको र दूध उत्पादन पशुपालन क्षेत्रको प्रमुख व्यवसायका रूपमा रहेकाले किसानलाई प्रोत्साहन गरी दूध उत्पादनमा आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख न्यौपानेले बताए । जिल्लामा पशुपालन गर्ने परिवारको सङ्ख्या ५२ हजार ३२३ रहेका कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु