गृहपृष्ठ बजेट परिमार्जन गर्नुपर्ने सांसद्हरुको माग
बजेट परिमार्जन गर्नुपर्ने सांसद्हरुको माग
प्रतिनिधिसभाका सांसद्हरुले बजेट परिमार्जन गरी देशको स्रोतसाधन प्रयोग गरेर उत्पादनमुखी बजेट बनाउनुपर्नेमा जोड दिएका छन् ।
सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद् राजेन्द्रकुमार केसी र सुरेशकुमार राईले बजेटमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, आयातलाई प्रतिस्थापन गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन लगायतलाई प्राथमिकताका साथ समावेश गरिएकोमा समावेश गरिनु सकारात्मक भएको बताए ।
सांसद् पार्वत गुरुङले के बजेट समृद्ध नेपाल निर्माणका निम्ति ल्याइएको हो, राज्यलाई बलियो वा कमजोर बनाउने गरी ल्याइएको बजेट हो भन्दै प्रश्न गरे । उनले बजेट कुनै निश्चित व्यक्तिलाई खुसी बनाउने गरी ल्याइएको आरोप लगाए ।
डा.डिला संग्राैलाले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि, ६८ वर्षमै वृद्धाभत्ता, निर्यात बढाउने, उत्पादन वृद्धि गर्ने, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन बजेटको प्राथमिकता भएको बताइन् । उनले उद्योग, पर्यटनलगायतको क्षेत्रमा रोजगारी गुमाएकाप्रति रोजगारीका कायक्रम ल्याउनुपर्ने सुझाव दिइन् ।
सांसद् सत्या पहाडीले विगतका वर्षहरुको भन्दा यस वर्षको बजेट उत्कृष्ट भएको बताउँदै कार्यान्वयनमा जोड दिइन् । सांसद् डा. विजय सुब्बाले भ्रष्टाचार र जातीय भेदभाव तथा छुवाछूत अन्त्यमा बजेटले ध्यान दिन नसकेको टिप्पणी गरे ।
सांसद् मीनबहादुर विश्वकर्माले बजेटमा किसानका लागि पेन्सनको व्यवस्था गर्नु बजेटको मुख्य विशेषता भएको टिप्पणी गरे । उनले सिंगो दलित आन्दोलनले माग गरेको दलित समुदायको सर्वाङ्गीण विकासका लागि स्थापना गरिएको दलित विकास समितिलाई सक्रिय बनाउनुपर्ने सरकारसँग माग गरे । सांसद् विमला विकले सरकारले समग्र मुलुकको विकासका निम्तिभन्दा पनि चुनाव केन्द्रित बजेट ल्याएको टिप्पणी गरिन् ।
सांसद विनाकुमारी श्रेष्ठले बजेट यथार्थपरकभन्दा पनि प्रचारमुखी भएको बताइन् । सांसद घनश्याम खतिवडाले बजेटले संविधानको मौलिक हकलाई सम्बोधन गर्न सकेको छैन भनिन् । सांसद् नवराज सिलवाल र खेमप्रसाद लोहनीले बजेट महत्वकांक्षी र चुनावमुखी भएको टिप्पणी गरे ।
प्रकाशित समय : ००:२५ बजे



















