गृहपृष्ठ निजी गाडीको लागि एलसी खोल्न दिन माग
निजी गाडीको लागि एलसी खोल्न दिन माग
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका गाडीको आयात प्रतीतपत्र (एलसी) खोल्न दिन आग्रह गरेको छ । शुक्रबार ‘नाडा पर्स्पेक्टिभ अन करेन्ट सिनारियो-रेस्ट्रिक्सन अन इम्पोर्ट फर पेसेन्जर अटोमोबाइल्स’ सार्वजनिक गर्दै नाडाले उक्त आग्रह गरेको हो ।
त्यसमा नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाइएको छ । अटो क्षेत्रमा १ खर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गरिरहेको एसोसिएसनले जनाएको छ ।
आयातको तुलनामा झण्डै दोब्बर राजस्व उपलब्ध गराउने अटोमोबाइल क्षेत्रलाई नजरअन्दाज गरी सरकारले निजी प्रयोजनका कार, जीप र भ्यानलाई आउँदाे असार मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिबन्धसमेत लगाएको भन्दै एलसी खोल्न दिन नाडाले आग्रह गरेको छ ।
निजी प्रयोजनका कार, जीप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा केही दिनअघि मात्रै विधिवत सुझावसमेत पेश गरिसकेको नाडाले जनाएको छ ।
प्रकाशित समय : २१:४१ बजे



















