गृहपृष्ठ गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको हो ।

नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । साथै, आईपी ६८ रेटिङ, थप क्षमतायुक्त जेमिनी एआई र अपग्रेड गरिएको ५एक्स टेलिफोटो क्यामेरा दिइएको छ ।

डिजाइनका हिसाबले पिक्सेल ११ सिरिज अघिल्लो पिक्सेल १० भन्दा धेरै फरक छैन । यद्यपि गुगलले नयाँ सिरिजमा फ्रस्ट, हिबिस्कस पिंक, पिस्ताचियो ग्रीन र अब्सिडियन ब्ल्याकलगायत नयाँ रङ थपेको छ ।

पिक्सेल ११ मा क्यामेरामा ठूलो सुधार

पिक्सेल ११ मा क्यामेरा प्रणालीमा उल्लेख्य सुधार गरिएको छ । यसको क्यामेरा बम्प अघिल्लो पिक्सेल १० को तुलनामा ४० प्रतिशतभन्दा बढी पातलो बनाइएको छ । फोनको पछाडिको भागमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड र १०.८ मेगापिक्सेलको ५एक्स टेलिफोटो क्यामेरा रहेको छ । अगाडि १०.५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

गुगलका अनुसार ४८ मेगापिक्सेलको मुख्य क्यामेराले अघिल्लो मोडलको तुलनामा ५६ प्रतिशत बढी प्रकाश ग्रहण गर्न सक्छ । ५एक्स टेलिफोटो क्यामेराबाट ३० एक्ससम्म सुपर जुम गर्न सकिने कम्पनीले जनाएको छ ।

पिक्सेल ११ को ब्याट्रीले ३० घण्टाभन्दा बढी चल्ने दाबी गरिएको छ । वायरलेस चार्जिङ पनि पिक्सेल १० को तुलनामा २५ प्रतिशत छिटो हुने बताइएको छ ।

पिक्सेल ११ को सुरुवाती मूल्य ८९९ अमेरिकी डलर तोकिएको छ । अघिल्लो मोडलभन्दा मूल्य १०० डलर बढे पनि नयाँ मोडलको आधारभूत भेरियन्टमै २५६ जीबी स्टोरेज र १२ जीबी ¥याम उपलब्ध हुनेछ । फोन अगस्ट २० देखि बजारमा आउनेछ ।

प्रो मोडलमा ‘हाइलाइट’ फिचर

पिक्सेल ११ प्रो र पिक्सेल ११ प्रो एक्सएलमा क्यामेरा बारमै नयाँ ‘हाइलाइट’ नामक एलईडी इन्डिकेटर राखिएको छ । यसले जेमिनी एआईसँगको अन्तरक्रिया तथा महत्वपूर्ण सम्पर्कबाट आउने कललगायतका गतिविधिको संकेत दिनेछ ।

गुगलले भविष्यमा यस एलईडीलाई थप कार्यका लागि प्रयोग गर्ने जनाएको छ । बारम्बार सम्पर्कमा रहने व्यक्तिबाट आउने म्यासेजको सूचना दिनेसम्म यसको क्षमता विस्तार गरिने कम्पनीको भनाइ छ ।

पिक्सेल ११ प्रोको डिस्प्ले अधिकतम ३,६०० निट्ससम्म चम्किनेछ । यसमा टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । क्यामेरातर्फ ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ४८ मेगापिक्सेलको अल्ट्रावाइड र ४८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा दिइएको छ । टेलिफोटो क्यामेराबाट १२० एक्ससम्म प्रो जुम गर्न सकिनेछ । सेल्फीका लागि ४२ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

प्रो सिरिजले ३० घण्टाभन्दा बढी ब्याट्री ब्याकअप दिने र अघिल्लो पिक्सेल १० प्रो तथा प्रो एक्सएलको तुलनामा वायरलेस चार्जिङ २९ प्रतिशतभन्दा बढी छिटो हुने गुगलले जनाएको छ ।

पिक्सेल ११ प्रोको सुरुवाती मूल्य १,०९९ अमेरिकी डलर र प्रो एक्सएलको १,२९९ अमेरिकी डलर तोकिएको छ । दुवैको आधारभूत भेरियन्टमा २५६ जीबी स्टोरेज र १२ जीबी ¥याम हुनेछ । ५१२ जीबी र १ टीबी स्टोरेज भेरियन्टमा १६ जीबी ¥याम उपलब्ध हुनेछ ।

फोल्डेबल फोनमा पनि अपग्रेड

गुगलले नयाँ पिक्सेल ११ प्रो फोल्ड पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसमा पिक्सेल सिरिजकै अहिलेसम्मकै पातलो बेजल प्रयोग गरिएको छ । पिक्सेल १० प्रो फोल्डको तुलनामा नयाँ मोडल तीन गुणा बढी टिकाउ रहेको गुगलको दाबी छ । फोनमा आईपी६८ वाटर तथा डस्ट रेजिस्टेन्स दिइएको छ । पछाडिको सामग्री पनि फुट्न निकै कठिन हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

फोल्डको दुवै डिस्प्ले अघिल्लो पुस्ताको तुलनामा २० प्रतिशत बढी चम्किलो छन् । भित्री डिस्प्लेले ३,६०० निट्ससम्म ब्राइटनेस दिन सक्छ । यसमा पनि टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ र २४ घण्टासम्मको ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ । क्यामेरातर्फ ४८ मेगापिक्सेल मुख्य, १०.५ मेगापिक्सेल अल्ट्रावाइड र १०.८ मेगापिक्सेल टेलिफोटो क्यामेरा रहेको छ । टेलिफोटो क्यामेराबाट ३०एक्ससम्म सुपर जुम गर्न सकिनेछ ।

पिक्सेल ११ प्रो फोल्डको सुरुवाती मूल्य १,८९९ अमेरिकी डलर तोकिएको छ । यसमा २५६ जीबी स्टोरेज र १६ जीबी ¥याम हुनेछ । यो फोन ओलिभ र ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ । अघिल्लो मोडलको तुलनामा यसको मूल्य पनि १०० अमेरिकी डलरले बढाइएको छ । एएनआई

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु