वीरगञ्जका महानगरका मेयर सिंहले गरे तीन निर्णय
वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४१
shares

वीरगञ्ज महानगरपालिकाका नव निर्वाचित नगर प्रमुख राजेशमान सिंहले पद तथा गोपनियताको सपथ लिएसँगै तीन निर्णय गरेका छन् ।
वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत गर्ने, घरेलु मिटर प्रयोग गर्दै आएका महानगरभित्रका १० हजार ९२४ घरधुरीको ३० युनिटसम्मको मासिक न्युनतम शुल्क तथा इनर्जी शुल्क र महानगरभित्र कृषि सिंचाइका लागि लिइएको ७० वटा सिंचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १ गतेदेखि महानगरपालिकाले व्यहोर्ने निर्णय गरेका छन् ।
महानगरपालिकाको आन्तरिक आम्दानीको स्थिति, संघ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको अध्ययन गर्नुको साथै प्रशासनिक खर्च कटौती गरेर अन्य जनहितका कामहरु गर्ने अठोट उनले लिएका छन् ।
उनले निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीले महानगर परिसरमा पछि बनेको नयाँ भवनको माथिल्लो तलामा आफ्नो कार्यकक्ष बनाएका थिए । तर नयाँ मेयर राजेशमानले पहिले प्रमुख प्रशासकीय अधिकृत बसेको कोठा चुनेका छन् । यो कोठा पुरानै भवनको भूँई तलामा छ ।























