सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाऔं : मेयर बालेन साह
वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:२३
shares

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन् ।
'आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं', साहले भने ।
काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । 'हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर, उत्कृष्ट सहर बनाउनलाई मिलेर सहकार्य गर्ने आशा राखेको छु', साहले भने ।
सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्याली भनेका छन् । सभागृहबाट सुरु भएको र्याली भद्ररकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ । त्यहाँबाट शान्तिनगर-तिनकुने-कोटेश्वर-जडीबुटी पुगेर पुन: कोटेश्वर-तिनकुने फर्किएर सिनामंगल-एयर्पोर्टं तिलगंगा-गौशाला-चावहिल-महाराजगंज-सामाखुसी-नयाँ बसपार्क पुग्ने छ ।
र्याली नयाँ बसपार्क पुगेपछि बालाजु-स्वयम्भु हुँदै सितापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालीकाटी-टेकु-त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।
लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् ।























