गृहपृष्ठ दुई तन्नेरीको हातमा गयो देशकै मुटु महानगरको नेतृत्व
दुई तन्नेरीको हातमा गयो देशकै मुटु महानगरको नेतृत्व
ठूला विरासतधारी राजनीतिक दलहरुलाई लौरो चिन्हको दण्ड चलाएर काठमाडौं महानगरको नेतृत्व स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले आफ्नो हातमा लिएका छन् । महानगरबासीको विश्वास जित्दै मतमा बदल्न सफल भएका बालेनले काठमाडौं मुहार बदल्ने भरोसा मतदाताकाे छ ।
उनले नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ठूला राजनीतिक दलको विरासतलाई भत्काएका छन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका बेला उपमेयरमा समेत स्वतन्त्रकै साइनो भएकी सुनिता डंगोल निर्वाचित भएकी छन् । सुरुमा स्वतन्त्र रुपमै मेयरको तयारी गरेकी डंगोल पछि नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी थिइन । यी दुई तन्नेरीको महानगर हाँक्ने ताकत कस्तो छ ? छोटो बायोग्राफी यसप्रकारको छ ।
बालेन साह ?
३१ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी र्यापरका रूपमा पनि चर्चित छन् । काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्यापर तथा कवि-लेखक साहको जितलाई कमैले आकलन गरेका थिए । तर पुराना राजनीतिक दलहरुलाई चुनौती दिँदै उनी काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका छन् ।
सुरुवातमा विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका थिए । पछि क्रमशः अन्य क्षेत्रका अगुवाहरु पनि उनको पक्षमा खुल्दै गए ।
मेयरका अर्का प्रतिस्पर्धी केशव स्थापितले उनलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिन थालेपछि साह झनै चर्चामा आए । उनले स्थापित आफ्नो ब्राण्ड एम्बेसडर भएको अभिव्यक्ति दिएका थिए ।
आफ्नो इञ्जिनियरिङ पृष्ठभूमिका कारण काठमाडौंको विकासका लागि आफू योग्य उम्मेदवार भएको उनको बुझाइ थियो । ‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ, थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु’ उनले भनेका थिए, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ, मैले निर्वाचित भएपछि गर्ने काम भनेको पनि तिनै विषयमा केन्द्रित हुनेछ ।’
सुनिता डंगाेल ?
उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलले सन् २०११ की मिस नेवा हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरेकी छन् । लिपि क्विनको नामले पनि चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन् । उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।
सुरुमा काठमाडौं महानगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मेयरको आकांक्षीका रुपमा उनले प्रचारप्रसार पनि तीव्र पारेकी थिइन् । तर एमाले अध्यक्ष केपी ओलीले उनको एउटा अन्तर्वार्ता सुनेपछि भेट्न बोलाएका थिए । त्यसपछि उनलाई नेकपा एमालेबाट उपमेयरमा उठ्न प्रस्ताव गरिएको थियो ।
विगतमा काठमाडौंका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा पनि काम गरिसकेकी उनी अन्तिम समयमा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनिन् ।
नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी आफ्नो प्रस्तुतिका कारण पनि युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् । नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गरिएको थियो ।
काठमाडौंका जनताले यी दुई प्रभावशाली युवाको हातमा महानगरको नेतृत्व सुम्पिदिएका छन् । अब उनीहरुले मतदाताको मतलाई कसरी प्रमाणित गर्छन हेर्न बाँकी छ ।
प्रकाशित समय : १४:४२ बजे



















