गृहपृष्ठ नवयुग बने राष्ट्रिय फुटबल टोलीको २०औं कप्तान
नवयुग बने राष्ट्रिय फुटबल टोलीको २०औं कप्तान
राष्ट्रिय फुटबल टोलीको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ । टोलीका कप्तान किरण चेम्जोङ जिम्मेवारीबाट हटाएर स्ट्राइकर नवयुग श्रेष्ठलाई २०औं कप्तानका रूपमा नियुक्त गरिएको हो । मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाइ गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको छ ।
प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । रोहित चन्दसहित १० खेलाडीको कदममा किरणले समेत समर्थन जनाएको प्रतिशोधमा एन्फाले नयाँ कप्तान नियुक्त गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसिया कप छनोट खेल्ने टिमको घोषणा गर्दा किरणसहित सिनियर १० खेलाडीलाई बाहिर राखेका थिए ।
नेपालले एसिया कप छनोट तेस्रो चरणको आफ्नो पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । जेठ २५ मा हुने उक्त खेलमा नवयुग कप्तानको आर्मब्यान्डसहित खेलको सुरुदेखि मैदानमा उत्रनुपर्नेछ । मुख्य प्रशिक्षक अल्मुताइरीसँग विवादका कारण ११ खेलाडीलाई टिमबाहिर राखिएपछि नवयुगको भाग्य खुलेको हो । इलामका नवयुगले सन् २०१५ मा भारतविरुद्ध पुनामा भएको मैत्रीपूर्ण खेलसँगै नेपालका लागि डेब्यु गरेका थिए ।
प्रशिक्षक ध्रुव केसीले नवयुगलाई ५५औं मिनेटमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गराएका थिए । उनी जगजित श्रेष्ठको स्थानमा मैदान छिरेका थिए । अहिलेको घोषित राष्ट्रिय टोलीमा उनी नै सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले अहिलेसम्म ४० क्याप जितेका छन् । उनको अन्तिम खेल भारतविरुद्ध साफ च्याम्पियनसिपको फाइनल रहेको थियो । नेपालका लागि नवयुगले ७ गोल गरेका छन् । त्यसमा सन् २०१६ को बंगबन्धु गोल्डकपमा गरेको ह्याट्रिक पनि पर्छ ।
सोही प्रतियोगिताको फाइनलमा नेपालले बहराइनको यू-२३ टिमलाई पराजित गर्दा एक गोल नवयुगले नै गरेका थिए । उनी सन् २०१६ मै नेपालले भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा स्वर्ण जित्दाका नायक खेलाडी हुन् । उनले प्रतियोगितामा दुई ह्याट्रिकसहित ७ गोल गरेका थिए । यो ह्याट्रिक भुटान र माल्दिभ्सविरुद्ध थियो । उनले भारतविरुद्धको फाइनलमा पनि एक गोल गरे ।
नेपाली टिम बुधबार कतार जाँदैछ । पूर्वनिर्धारित कार्यक्रमअनुसार कतारमा अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहे पनि त्यो स्थगित भइसकेको छ । कतारमा नेपाली टिमले थप तयारी गर्नेछ र त्यसपछि कुवेत जानेछ । जोर्डन विरुद्धको पहिलो खेलपछि नेपालले समूह ‘ए’का खेलमा अन्य खेलमध्ये जेठ २८ मा कुवेत र ३१ मा इन्डोनेसियाको सामना गर्नेछ ।
प्रकाशित समय : १६:०६ बजे



















