गृहपृष्ठ ठोरी गाउँपालिका अध्यक्षद्वारा पदभार ग्रहण, कक्षा १२ सम्म नि:शुल्क गर्ने निर्णय
ठोरी गाउँपालिका अध्यक्षद्वारा पदभार ग्रहण, कक्षा १२ सम्म नि:शुल्क गर्ने निर्णय
ठोरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आज सपथ ग्रहण गरेका छ्न । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले आजै दिउँसो जिल्ला समन्वय समितिमा पुगेर उच्च अदालतका न्यायाधीशबाट सपथ लिएका थिए ।
अन्य पदाधिकारीलाई अध्यक्ष श्रेष्ठले ठोरी गाउँपालिका कार्यालयमा सपथ ग्रहण गराए । सपथ ग्रहणपश्चात अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष गोकुली रेग्मीले आजै पदभार ग्रहण गरेका छ्न् । केही वडाध्यक्षहरुले आजै र केहीले भोलि पदभार ग्रहण गर्ने बताइएको छ । पदभार ग्रहण गरेसँगै गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका छानामा नयाँ जस्तापाता प्रयोग गरी पानी चुहावटमुक्त विद्यालय बनाउने निर्णय गरेको छ । यसका साथै बाल शिक्षादेखि १२ कक्षासम्मकाे शिक्षा नि:शुल्क गर्ने निर्णयसमेत गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार लगायतको उपस्थित थिए । सपथ ग्रहणअघि गाउँपालिकाका कर्मचारीहरुले नयाँ जनप्रतिनिधिहरुलाई कार्यालयमा स्वागत गरेका थिए ।

अध्यक्षमा नेकपा एमालेका तर्फबाट चुनाव लडेका श्रेष्ठ ४ हजार ४९ मतका साथ विजयी भएका हुन् । उनी निकटतम प्रतिद्वन्द्वीसित ७ सय २० मतअन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ ३ हजार ३२९ मत प्राप्त गरे । उपाध्यक्षमा पनि एमालेकै गोकुलीकुमारी रेग्मी ४ हजार २५९ मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निरु तामाङले ३ हजार ४३ मत प्राप्त गरिन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । पाँच वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा एमालेले जित हासिल गरेको छ भने वडा नम्बर २ मा कांग्रेस र ५ मा माओवादी केन्द्रले बाजी मारेको छ ।
प्रकाशित समय : ०२:१४ बजे



















