गृहपृष्ठ आफ्नै वडामा स्थापित पराजित, काठमाडौं-२८ मा कांग्रेसका खड्गी विजयी
आफ्नै वडामा स्थापित पराजित, काठमाडौं-२८ मा कांग्रेसका खड्गी विजयी
काठमाडौं महानगरपालिका-२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानल नै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका छन् ।
जुन नेकपा एमालेबाट महानगरको मेयर उम्मेदवार रहेका केशव स्थापितको वडा हो । स्थापितले आफ्नै वडामा पराजय ब्यहोरेका छन् ।
भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरे । त्यसैगरी सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भए । महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएकाे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डंगाेलले अग्रता कायमै राखेका छन् । वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतपरिणाम सार्वजनिक भइसकेको छ । एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले तथा वडा नं २८ र ३० मा कांग्रेस विजयी भएको छ ।
कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
प्रकाशित समय : १५:५० बजे



















