गृहपृष्ठ ५७० स्थानीय तहकाे मत गणना सकिँदा कुन दलले कति जिते ?
५७० स्थानीय तहकाे मत गणना सकिँदा कुन दलले कति जिते ?
गत वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन भएका देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ ।
निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिकामध्ये कांग्रेस एक्लैले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ । कांग्रेसले मतपरिणाम सम्पन्न भएकामध्ये ४४.३८ प्रतिशत पालिकामा जित निकालेको हाे ।
कांग्रेसपछि दोस्रो र तेस्राे स्थानमा क्रमश: नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) रहेका छन् । पछिल्लाे तथ्यांकअनुसार एमालेले हालसम्म १६४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । यो संख्या मतगणना सकिएका कूल पालिकाको २८.७७ प्रतिशत हुन आउँछ । त्यस्तै माओवादीले हालसम्म १०५ वटा पालिका प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सम्पन्न भएकामध्ये १८.४२ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म मतगणना सकिएकामध्ये २.६३ प्रतिशत स्थानमा जित हासिल गरेकाे छ । पछिल्लाे तथ्यांकअनुसार साे पार्टीले १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष विजय हासिल गरेकाे हाे । नेकपा (एकीकृत समाजवादी)ले हालसम्म १२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१० प्रतिशत पालिकामा एकीकृत समाजवादीको उम्मेदवारहरू विजयी हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म दुई वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९ वटामा अन्य तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । तराइकेन्द्रित राजनीति गरिरहेकाे सीके राउत नेतृत्वकाे जनमत पार्टीले पनि स्थानीय तह प्रमुखमा जित हासिल गरेकाे छ ।
यसका साथै केही स्थानीय तहका वडाहरूका केही समयअघि मात्र मूलधारकाे राजनीतिमा आएकाे नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाका उम्मेदवारहरू विजयी हुन् ।
प्रकाशित समय : २०:४४ बजे



















