बैंकिङ कसुरका दोषीलाई अदालतमा पेस
वि.सं.२०७९ वैशाख २७ मंगलवार २३:१३
shares

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भइ झन्डै रु ३७ लाख जरिबाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा काठमाडौँ महानगरपालिका–८ का ५० वर्षीय रामसुन्दर डंगोललाई पक्राउ गरेको हो । उनले विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए ।
उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको उनीविरुद्ध मुद्दा परेको थियो । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको यही ४ गतेको फैसलाले डंगोललाई ७ दिन कैद र रु ३६ लाख ७५ हजार जरिबाना हुने ठहर गरेकोको थियो ।
फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिए ।

























