गृहपृष्ठ फोहोर संकलन दौडमा ५ टिमले जिते १०/१० हजार नगद

फोहोर संकलन दौडमा ५ टिमले जिते १०/१० हजार नगद

फोहोर संकलन दौडमा ५ टिमले जिते १०/१० हजार नगद

मैनादेवी फाउन्डेसनले गत शनिबार काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ सफलतापूर्वक सम्पन्न गरेको छ । कुमारी जबसँगको सहकार्यमा फाउन्डेसनले उक्त कार्यक्रम गरेको हो ।

चार सयभन्दा बढी युवाहरुको उत्साहजनक उपस्थिति रहेको उक्त रेस हात्तीसार चोकबाट सुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे । दौडँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्येक ५ वटा टिमलाई नगद १० हजार रुपैयाँ पुरस्कार र पदक प्रदान गरिएको छ । दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट बिनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए ।

यसको साथै कुमारी जबले अन्य मनोरन्जनात्मक कार्यक्रमहरु पनि गरेको थियो । जसको विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ । विजेताहरुको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राम मार्फत केही दिन पछि गरिनेछ । दौडमा सहभागी युवाहरुलाई सम्बोधन गर्दै कुमारी जबका संस्थापक सन्देश भण्डारीले सामाजिक कार्यमा युवाहरुको उत्साहजनक सहभागिता देखेर खुसी लागेको बताए ।

कार्यक्रममा प्रसिद्ध क्रिकेटर एवं नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, पूर्वआइजीपी सर्वेन्द्र खनाल, काठमाडौँ महानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन), गायिका रेखा जोशी, स्ट्यान्ड अप कमेडियन हिमेश पन्त, पत्रकार राजेन्द्र बाँनिया, कार्टुन्ज क्रु लगायतको उपस्थिति थियो । रेसमा एक हजार किलोभन्दा बढी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित समय : ०२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु