गृहपृष्ठ यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछः प्रदेश मन्त्री मन्सुरी
यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछः प्रदेश मन्त्री मन्सुरी
इनरुवा । कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन लागत घटाउन प्रविधिमैत्री एवं यान्त्रिकीकरणमा जोड दिइने बताएका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा कृषि ज्ञान केन्द्रले आज आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले नेपालको पूर्वी क्षेत्र मुलुककै कृषि उत्पादनका हिसाबले अग्रणी रहेको धारणा राखे ।
देशको प्रमुख अन्नबालीका रूपमा रहेको धान बाली प्रवर्द्धनका लागि जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्र्ने योजना र कार्यक्रम ल्याइने बताउँदै प्रदेश मन्त्री मंसुरीले किसानलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष बैङ्क कर्जा र ब्याजअनुदानको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रहरी उपरीक्षक केशवकुमार थेबे, जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर अजादलगायतको सहभागिता रहेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।
प्रकाशित समय : १५:३८ बजे



















