nmb bank

गृहपृष्ठ श्रमलाई सम्मान गर्ने संस्कृति निर्माणमा थप योगदान गरौं : राष्ट्रपति भण्डारी

श्रमलाई सम्मान गर्ने संस्कृति निर्माणमा थप योगदान गरौं : राष्ट्रपति भण्डारी

श्रमलाई सम्मान गर्ने संस्कृति निर्माणमा थप योगदान गरौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छन् । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिंदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु ।’

राष्ट्रपति भण्डारीले दिवसका अवसरमा मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।

‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरूको लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ’, सन्देशमा भनिएको छ, ‘न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो ।'

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु