काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालेन सरकार ‘इन्डिया र चाइना कार्ड’मा विश्वास गर्दैन : सांसद पन्त

651
shares

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई उच्च महत्त्व दिएको बताएका छन् । उनले साझा धार्मिक तथा सांस्कृतिक सम्पदाले दुई देशको सम्बन्धलाई जीवन्त बनाउँदै आएको स्मरण गर्दै बालेन सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’मा पटक्कै विश्वास नगर्ने दाबी गरे । उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिइने स्पष्ट पारेका छन् ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले सोमबार वीरगञ्जको टाउन हलमा आयोजना गरेको भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्‌’को १५०औँ वार्षिकोत्सवसम्बन्धी विशेष सांस्कृतिक समारोहलाई सम्बोधन गर्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त विशिष्ट रहेको उल्लेख गर्दै उनले नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको बताए । दुई देशबीचको सम्बन्ध राजनीतिक र कूटनीतिक विषयमा मात्र सीमित नभई धार्मिक, सांस्कृतिक तथा सामाजिक आधारमा समेत स्थापित रहेको उनको भनाइ थियो ।

सांसद पन्तले नेपाल र भारतबीच रहेका साझा धार्मिक धरोहर, परम्परा र चाडपर्वले दुई देशका जनताबीचको आपसी सम्बन्धलाई जीवन्त राखेको बताए । यस्ता साझा सांस्कृतिक सम्पदाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने उनको धारणा थियो ।

भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्‌’को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

भारतीय महावाणिज्य दूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न उक्त विशेष सांगीतिक समारोहमा भारतको नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)को तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको टोलीले मनमोहक सांगीतिक प्रस्तुति गरेको थियो ।

कार्यक्रममा महावाणिज्य दूत मीनाले भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्‌’को ऐतिहासिक महत्त्व र यसको पृष्ठभूमिबारे प्रकाश पारेका थिए। उनले गीतको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई स्मरण गर्दै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको महत्त्वबारे चर्चा गरेका थिए।

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय तथा भारतीय सांस्कृतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो।