nmb bank

गृहपृष्ठ मताअधिकारबाट बञ्चित नगर्न आग्रह

मताअधिकारबाट बञ्चित नगर्न आग्रह

मताअधिकारबाट बञ्चित नगर्न आग्रह

यौनिक तथा अल्पसंख्यक, अपांग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम तथा मधेसी संवाद समूहले आसन्न स्थानीय तहको निर्वाचनमा मताअधिकारबाट बञ्चित नगर्न आग्रह गरेको छ । सोमबार नेपालगञ्जमा आयोजना गरेको संवादमा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल बनाउन समन्वय र सहकार्य आवश्यक भएकोमा जोड समेत दिइएको छ ।

यौनिक तथा अल्पसंख्यक शीला गुरुङले बाँकेमा तेस्रो लैंगिककाे संख्या ५०० बढी रहे पनि पहिचानसहितको नागरिकता नभएका कारण महिला या पुरुषकै लाइनमा लागेर मतदान गर्नुपर्ने अवस्था रहेको बताए । लोपोन्मुख समुदायका सव्वीर किंघरियाले सीमान्तकृत समुदायमा मतदाता शिक्षा नपुगेको जनाउँदै मतको महत्वबारे पनि प्रकाश पार्न आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रिय अपांग महासंघका सचिव भावुकजंग थापाले अपागंता भएका व्यक्तिका लागि विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिनुपर्ने सुझाव दिए । अधिकारकर्मी प्रकाश उपाध्यायले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाउँदै मतदान गर्ने लाइन, खानेपानी, शौचालयलगायतमा विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औँल्याए ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावलले अपांग, ज्येष्ठ नागरिकलगायतका सबै मतदातालाई सुरक्षित मतदान गर्ने अधिकार सुनिश्चिता गरिनुपर्नेमा जोड दिए । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले मतदानमा सुरक्षा थ्रेट नरहेको, मतदान केन्द्रको नियमित स्थलगत अवलोकनसँगै सुरक्षा विश्लेषणसहितको तयारी रहेको जानकारी दिए ।

मतदान केन्द्रलाई मतदातामैत्री बनाउन आवश्यक समन्वय, संवाद र सहकार्यका लागि सहभागीले प्रतिबद्धता जनाएका छन् । संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईँद्वारा सहजीकरण गरिएको कार्यक्रममा बादी समुदायकी अगुवा नेतृ सुशीला नेपाली, कशौधन महिला मञ्चकी अध्यक्ष सीतादेवी वैश्य, मुस्लिम महिला अगुवा मैमुना सिद्दिकीलगायतले निर्वाचन व्यवस्थित गर्ने सन्दर्भमा आ-आफ्नो सुझाव राखेका थिए ।

जिल्लामा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ जनाले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् ।

प्रकाशित समय : १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु