गृहपृष्ठ रामेछापमा पहिलो पटक जुनारको बिमा, बगैँचामै पुगेर पोलिसी हस्तान्तरण

रामेछापमा पहिलो पटक जुनारको बिमा, बगैँचामै पुगेर पोलिसी हस्तान्तरण

रामेछापमा पहिलो पटक जुनारको बिमा, बगैँचामै पुगेर पोलिसी हस्तान्तरण

आइएमई जनरल इन्स्योरेन्समार्फत रामेछाप जिल्लामा पहिलो पटक जुनारको बिमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत बैशाख ८ गते रामेछाप नगरपालिका वडा नम्बर ६ पुरानागाउँका ३ जना जुनार कृषकले लगाएको जुनारको बोट गणना गरी बिमा गरिएको हो ।

जस अनुसार शेर बहादुर तमाङले लगाएका २३५ बोट, हेम बहादुर तमाङले लगाएका २५० बोट र पृथे तमाङले लगाएका १३० बोट जुनारको बिमालेख किसानको बगैँचामा नै गएर आइएमई जनरल इन्स्योरेन्स मन्थलीका शाखा प्रमुख विपिन भट्टराईले हस्तान्तरण गरेका हुन् । उक्त जुनारको पीसीआर रिपोर्ट राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटा प्रयोगशालामा परीक्षण गराउँदा नेगेटिभ नतिजा आएपछि बगैँचाको जुनारको बोट स्वस्थ भएको प्रमाणित भए अनुसार बिमा गरिएको प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए ।

परियोजना कार्यालयले जुनारको बगैँचामा रोग लागन नदिन किसानको जुनार बगैँचामा गएर विषादी छर्न १० जनाको टोली नै बनाएको गैरेले जानकारी दिए । उक्त बिमालेख हस्तान्तरणको कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरणका प्रमुख थिरलाल गैरे, जुनार जोन रामेछापकी प्राविधिक भवानी बस्नेत, श्याम बहादुर तमाङ र रामेछाप नगरपालिकाका कृषि प्राविधिक लबश्री विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

जुनारको बिमा गरेपछि कृषक थप उत्साहित भएका छन् । कम्पनीका शाखा प्रमुख भट्टराईका अनुसार कुनै कारणबाट जुनार खेतीमा हानी नोक्सानी भएमा अधिकतम बिमांक रकमको सिमा भित्र रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने छ ।

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु