गृहपृष्ठ गण्डकीमा पहिलोपटक कानुनी रूपमा राइड सेयरिङ दर्ता

गण्डकीमा पहिलोपटक कानुनी रूपमा राइड सेयरिङ दर्ता

गण्डकीमा पहिलोपटक कानुनी रूपमा राइड सेयरिङ दर्ता

गण्डकी प्रदेशमा पहिलोपटक राइड सेयरिङ कम्पनी कानुनी रूपमा दर्ता भएर सञ्चालनमा आएको छ। ‘सवारी नेपाल’ले प्रदेश सरकारले जारी गरेको सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार अनुमति पाएर सेवा सुरु गरेको हो।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयकी प्रवक्ता मुना अधिकारीका अनुसार हालसम्म गण्डकीमा ‘सवारी सेवा नेपाल प्रालि’ मात्रै राइड सेयरिङका लागि दर्ता भएको छ। अन्य चार कम्पनीले अनुमति माग्दै आवेदन दिएका छन्।

मन्त्रालयका अनुसार गण्डकीमा मात्र नभई देशभरमै कानुनअनुसार अनुमति पाउने यो पहिलो राइड सेयरिङ कम्पनी हो। यसअघि पठाओ, इनड्राइभलगायत सेवा प्रदायक कम्पनी तथा प्लेटफर्म कम्पनी र कर कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएका थिए। संघीय तथा अन्य प्रदेश सरकारले भने राइड सेयरिङसम्बन्धी छुट्टै कानुनी व्यवस्था गरेका छैनन्।

गण्डकी सरकारले प्रदेशमा सञ्चालन भइरहेका अन्य राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवाहरूलाई पनि कानुनी दायरामा ल्याउन ३० दिनको समय दिएको छ। मन्त्रालयले सूचना जारी गर्दै सेवा प्रदायक, संस्था, व्यक्ति तथा प्लेटफर्मलाई तोकिएको अवधिभित्र दर्ता र अनुमति लिन निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार तत्काल सेवा बन्द गर्दा सर्वसाधारणलाई असर पर्ने भएकाले ३० दिनको समय दिइएको हो। उक्त अवधिमा दर्ता नभएका सेवा प्रदायकमाथि कानुनी कारबाही गर्दै सेवा बन्द गरिने चेतावनी मन्त्रालयले दिएको छ।

सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवाका लागि नयाँ भाडादरसमेत निर्धारण गरेको छ। मन्त्रालयका अनुसार तोकिएको भाडा हाल बजारमा प्रचलित दरभन्दा किफायती छ। अब सेवा प्रदायकले मन्त्रालयले सार्वजनिक गरेको दरअनुसार मात्रै शुल्क लिनुपर्नेछ।

सेवालाई सुरक्षित र व्यवस्थित बनाउन कम्पनीहरूले प्रयोग गर्ने एपको समेत सरकारीस्तरबाट अडिट गरिने मन्त्रालयले जनाएको छ। यसबाट सेवा प्रदायकको सञ्चालन र कारोबारलाई सरकारी निगरानी प्रणालीमा ल्याइनेछ।

प्रवक्ता अधिकारीका अनुसार प्रविधिमा आधारित नयाँ सेवा भएकाले कानुनी संरचना तयार गर्न समय लागेको हो। यसअघि कार्यान्वयनका क्रममा अदालतमा मुद्दा तथा विभिन्न चरणका आन्दोलनसमेत भएकाले प्रक्रिया लम्बिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले सर्वसाधारणलाई दर्ता तथा अनुमति प्राप्त कम्पनीबाट मात्रै राइड सेयरिङ सेवा लिन आग्रह गरेको छ।

प्रकाशित समय : २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु