गृहपृष्ठ उद्योगले आवश्यकता अनुसारको सुपारी आयातको अनुमति पाउँछ : मन्त्री बडू
उद्योगले आवश्यकता अनुसारको सुपारी आयातको अनुमति पाउँछ : मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगले आवश्यकता अनुसारको कच्चा पदार्थ (सुपारी) आयातको अनुमति पाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा शुक्रबार उनले उद्योगको आवश्यकता अनुसार नै सरकारले सुपारी आयातको अनुमति खुलाएको बताए ।
उनले व्यवसायीले कच्चा पदार्थ ल्याउने तर उद्योगीले आवश्यक कच्चा पदार्थ नपाउने गुनासो बढेपछि सरकारले औद्योगिक प्रयोजनका लागि मात्र सुपारी आयातको अनुमति दिइएको जिकिर गरे । 'उद्योगीको गुनासोपछि हामीले कच्चा पदार्थ आवश्यक पर्ने उद्योगलाई मात्र कच्चा पदार्थ आयातको अनुमति दिनुपर्छ भनेर नै तोकेका हौँ । यसअघिको सरकारले अपारदर्शी निर्णय गर्दा अहिले समस्या देखिएको हो, हामीले आयातलाई व्यवस्थित गर्दैछौँ, कच्चा पदार्थ नपाएकै कारण कुनै पनि उद्योग बन्द हुँदैनन्', उनले भने ।
उनले सरकारले सुपारी आयातलाई व्यवस्थित गर्ने काम गरिरहेको भन्दै आयात खुलाउनुपर्नेमा जोड दिए । 'समितिले अध्ययन गर्ने भन्दै सुपारी आयातको अनुमति रोकेको रहेछ । तपाइहरुले अध्ययन गरिसक्नुभयो, सुझाव भए केही पाऊँ, होइन भने अहिले रोकिएको आयात खुलाऊँ', उनले भने । उनले आयात खुलाउनुपर्ने माग गरेपछि समितिका सभापति विमल श्रीवास्तवले आइतबार थप छलफल गरेर थप निर्णय गरिने बताए ।
गत चैत २३ गते समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफल गर्दै तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार वाणिज्य विभागले हाल सुपारी आयातको अनुमति रोकेको छ । समितिको बैठकमा सहभागी पान तथा गुट्खा उद्योगका प्रतिनिधिले कच्चा पदार्थ नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका थिए ।
श्रीराम टोबाको उद्योगका प्रतिनिधि रघु घिमिरेले पर्याप्त मात्रामा सुपारी नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । 'हामीसँग १० दिनका लागि पुग्ने सुपारीको मौज्दात छ, सहजरूपमा सुपारी आयात गर्न नपाउँदा क्षमताभन्दा कम गुट्खा उत्पादन गरेर अन्य जनशक्ति सुपारी खोज्न लाग्नुपरेको छ', उनले भने,'हामीले हाम्रो जनशक्तिलाई झापाका सुपारी किसानको घरघरमा पुर्याएका छौं । किसानको घरघरमा गएर ल्याएको सुपारीले हाम्रो उद्योग धानेको छ ।'
यस्तै पान व्यवसायी संघका अध्यक्ष टेकबहादुर अधिकारीले सरकारकै कारण रोजगारी गुम्ने खतरा बढेको बताए । 'हामी पान व्यवसायी आफैँ स्वरोजगार बनेका छौं, आवश्यकता अनुसारको सुपारी नहुँदा व्यवसाय नै गुम्ने खतरा बढ्यो', उन भने,'देशभर ६० हजार पान पसलले एक लाख २५ हजारलाई रोजगारी दिएको छ, सुपारी नहुँदा उनीहरुको रोजगारी जानसक्छ ।'
प्रकाशित समय : १७:४८ बजे

















